सन्दिप पाठक
पर्वत, २० चैत्र । माया नभएकाहरुलाई मायाको के अर्थ ? तर, जो सँग पर्याप्त माया ममता छ उसैले गर्ने रहेछ मायाको व्याख्या । यसरी नै गरे शनिवार कला र साहित्यलाई माया गर्ने धौलागिरीका धेरै सर्जकहरुले आफ्नो सिर्जना मार्फत ।
म्याग्दीको बेनीमा जम्मा भएका उदयमान साहित्यकार अनि कलम घोटेर दारी पकाएका सर्जकहरु रम्नु रमे धौलागिरी कला तथा साहित्य मञ्चको मासिक डबली कार्यक्रममा । साहित्य क्षेत्रका हरेक विधाले हरेकलाई झुमाइरहेको थियो । कतिपयहरु साहित्यिक मन्त्रमुग्धको नशामा डुबिरहेका थिए ।
कलम चलाउनेहरुको जम्काभेट साहित्यकारहरुलाई गौरवको विषय थियो । उपस्थित साहित्यकाकरहरुले गजल, कविता, हाईकु, मुक्तक, निबन्ध, भावना लगायतका विधामा सिर्जनाहरु सुनाईरहेका थिए ।
धौलागिरीका साहित्यकारहरु वेलविकास पौडेल, प्रेम प्रकाश पौडेल, गणनाथ पौडेल, रामप्रसाद सुवेदी, ध्रुवलाल शर्मा शंकर चोखाल, निर्मल पौडेल ‘एन पि घायल’, सुजिता गिरी, मगर प्रेम, सिर्जना कार्की, लगायतका ५० भन्दा बढी साहित्यकारहरुले विभिन्न विधाका राष्ट्र प्रेमी रचनाहरु पस्केका थिए ।
देशमा भएको पछिल्लो परिर्वतनसम्म आईपुग्दा समाजमा घटेका सामाजिक तथा राजनैतिक घटनाक्रमको व्यङ्ग्य चित्रणसँगै बुढेसकालमा एक्लो हुँदाको पीडा समेटेएिका रचनाहरुले हलमा उपस्थित स्रोता र दर्शकहरु भावात्मक शैली र उमङ्गमा रमेका थिए ।
त्यसो त उक्त कार्यक्रममा प्रवाह भएका सिर्जनाहरुमा नवरसको कुनै कमी थिएन । साहित्यकारले पाएको तालीको गडगडाहटले लाग्थ्यो कार्यक्रम हल जुरुक्क जुरुक्क भएको थियो । कतिबेला भाव सिर्जना हुने त कतिबेला खुसी छाईरहेको हलमा धौलागिरी कला तथा साहित्य मञ्चको मासिक डबली कार्यक्रमको अध्यक्षता धौलागिरी कला तथा साहित्य मञ्चका उपाध्यक्ष शंखर चोखालले गरेका थिए । भने स्वागत सिर्जना कार्की र उक्त कार्यक्रमको सञ्चालन सन्दिप खत्रीले गरेका थिए ।
कलम चलाउनेहरुको जम्काभेट
बेनीमा तात्यो कला तथा साहित्यिक माहोल