पर्वतमा नयाँ शक्ति पार्टी नेपाल र माओवादी केन्द्र बीच पार्टी एकता भएको घोषणा

823
views

नवदृष्टि संवाददाता
पर्वत, २८ चैत । पर्वतमा नयाँ शक्ति पार्टी र माओवादी केन्द्रका बीच पार्टी एकता भएको सोमबार घोषणा भएको छ । पार्टी कार्यालय लभ्ली डाँडामा आयोजित पत्रकार सम्मेलनमा दुई पार्टी एक भएको घोषणा गरिएको हो ।नयाँ शक्ति पार्टीका केन्द्रिय परिषद सदस्यहरु गगन बहादुर थापा, केशवराज कुँवर (सिर्जनशिल) अनिल मास्के, मिनराज केसी, ‘अविरल’ लगायतको नेतृत्वमा दुई पार्टीका बीच एकता भएको घोषणा गरिएको हो ।
नयाँ पार्टी नेपाल पर्वतमा क्रियाशिल बहुमत सदस्यहरुले बाबुराम भट्टराईले लिएको नीति जनता झुक्याउने नीति भएको भन्दै पार्टी एकता गर्न सहमत भएपछि दुइपार्टीले एकता गरेका थिए । नयाँ शक्ति नेपालका संस्थापक अभियान्ताहरुले पार्टी एकता गरेपछि पर्वतमा नयाँ शक्ति पार्टी नेपाल कमजोर भएको छ ।
यो एकता देशव्यापी हुँदैछ पूर्व नयाँ शक्ति नेपालका केन्द्रिय परिषद सदस्य गगन बहादुर थापाले भने ‘पूर्व देखि पश्च्चिम र उत्तरदेखी दक्षिणसम्म ध्रुविकरण हुने प्रक्रिया चलेको छ । यस्तै पूर्व नयाँ शक्ति अभियानका अभियान्ता केशव कुँवर ‘सिर्जनशिल’ ले नयाँ शक्ति पार्टीको अभियान शुरुमा राम्रो भएपनि पछिल्लो समयसम्म आईपुग्दा सम्पूर्ण कार्यशैली ठिक नभएकोले सो पार्टी एकतामा परिणत गर्नुपरेको बताए ।
को हुन गगन बहादुर थापा ?

२०४० सालमा नेकपा मसालको विद्यार्थीबाट राजनीति शुरु गरेका थापा २०४४ सालमा एमाले निकट विद्यार्थी संगठनको अनेरास्ववियू पाँचौंमा सहभागी बने । विद्यार्थीकालमा अनेरास्ववियू पाँचौको राजनीतिमा क्रियाशिल थापा प्रवास गए र सुरु भो उनको जीवन दर्शनको भोगाई र बुझाईको राजनीति । प्रवासमा रहँदा थापाले प्रवास एकता समाजको गोरखपुर नगरकमिटीको सचिव, पश्चिम उत्तर राज्य समितिको सचिवका साथै अखिल भारत विद्यार्थी संघको केन्द्रिय उपाध्यक्ष सम्म बने ।
थापा २०५० सालमा एकता केन्द्रमा सहभागी भई २०५२ सालमा पूर्णकालिन कार्यकर्ता भए । तात्कालिन समय देखिनै बाबुराम भट्टराई निकट मानिदै आएका थापा प्रवासको व्युरो सदस्य बने । २०५६ सालदेखी ०६० सालसम्म रुपन्देही जिल्लामा ईन्चार्जको भुमिका निर्वाह गरे । २०६०–०६३ सालसम्म जनमुक्ति सेनाको बटालियन कमिसारका साथै योङ्ग कम्युनिष्ट लिगको पर्वतको अध्यक्ष सम्म भएका थापा माओवादी पार्टीमा भएको दुईलाईन संघर्ष पछि प्रचण्ड नेतृत्वको माओवादीबाट सम्बन्ध विच्छेद गरेको बैद्य नेतृत्वको माओवादीको केन्द्रिय सदस्य बने ।
२०६८ मा बैद्य माओवादीको केन्द्रिय सदस्यमा रहेका थापा विप्लव नेतृत्व नेकपा माओवादीमा प्रवेश गरे । पछि विप्लव नेतृत्वको माओवादी परित्याग गरी २०७२ माघ ५ गते अबको निकास आर्थिक विकास भन्दै केन्द्रिय परिषद् सदस्य भई नयाँ शक्ति पार्टी नेपालमा घाँटी जोड्न पुगे । माओवादीबाट फुटेका विभिन्न पार्टीमा सहभागी थापाले जनयुद्वकालिन समयका सम्पूर्ण त्यागको उपेक्षा गरेको भन्दै २०७३ साल चैत्र २८ मा पून नेकपा माओवादीसँग नयाँ शक्ति पार्टी नेपाल र माओवादी केन्द्रका बीच पार्टी एकता भएको घोषणा गर्न पुगेका छन् ।
को हुन सिर्जनशिल कुँवर
२०४८ सालमा अनेरास्ववियू छैटौको सदस्यबाट राजनीतिमा प्रवेश गरेका सिर्जनशिल कुँवर २०४९ सालमा नेकपा मसालको सदस्य बनेका हुन् । २०५३ सालमा नेकपा माओवादीको प्रवास विभागमा रहेका कुँवर २०५७ सालमा पार्टीको जिल्ला कमिटी सदस्य समेत भएका छन । २०५८ सालमा माओवादीको जिल्ला सेक्रेटरीका साथै प्रवास व्यूरो सदस्य भएका उनी २०५९ सालमा जनमुक्ति सेनामा सहभागी भएका थिए । माओवादी पार्टीमा भएको दुईलाईन संघर्षपछि प्रचण्ड नेतृत्वको माओवादीबाट सम्बन्ध विच्छेद गरेको बैद्य माओवादी नेतृत्वको नेकपा–माओवादीको २०६८ सालमा स्याङ्गजा जिल्ला ईन्चार्ज समेत बने ।
बैद्य माओवादीको दोस्रो संविधान सभाको चुनाव बहिष्कार अभियानको तिव्रतामा लागिरहेकै बेला कुँवर पून एकिकृत माओवादीमा गए र पछि एकिकृत माओवादी छाडी नयाँ शक्ति नेपालको संस्थापक अभियान्ता बने । नयाँ शक्ति पार्टी नेपालको केन्द्रिय सदस्य समेत बनेका कुँवरले समेत पर्वतमा दुई पार्टी एकता भएको घोषणा गर्न पुगे । पर्वतमा मुख्यत गगन बहादुर थापा र सिर्जनशिल कुँवरको पहल र भुमिकाबाट नै दुई पार्टीका बीच एकता भएको विश्लेषकहरु बताउँछन् ।
कतिजनाको समुहले ग¥यो त पार्टी एकता ?
जनक भुसाल (केन्द्रिय परिषद सदस्य), एकनारायण गिरी (राज्य परिषद सल्लाहकार सदस्य), कमल लामिछाने (राज्य परिषद सदस्य), पारिश्वर भुसाल (राज्य परिषद सदस्य), भुपेन्द्र चापागाई, धु्रव केसी, उत्तम परियार, चित्र पुर्जा, दुर्गा थापा, रामचन्द्र सापकोटा, सुरेश थापा, सुस्मिता पौडेल, सिता हमाल, राम बहादुर कुँवर, उदय लम्साल, नवराज क्षेत्री, मोहदत्त शर्मा, वेल बहादुर नेपाली (बारुद) र प्रदीप गरी २४ जना सहभागी छन ।
यता नयाँ शक्ति पार्टी नेपालका जिल्ला संयोजक एवं केन्द्रिय परिषद सदस्य महेन्द्र जंग लामिछानेले भने पार्टी एकता नभएको प्रतिक्रिया दिएका छन् । लामिछानेले घुमन्ते फिरन्ते समुहले पार्टी छोडेको तर उनिहरुले भने जस्तै पदका दुईजना भन्दा बढी नगएको बताएका छन् । लामिछानेले जिल्ला कार्यसमितिमा जम्मा २४ जना सदस्य भएको तर जिल्ला कमिटीका नभई नयाँ शक्ति पार्टीमा भएका गाउँ स्तरका कायृकर्ता सम्हाले बहुमतको संज्ञा दिएको बताए ।