फलेवासमा एमालेका मत माग्न एम्बुलेन्सको प्रयोग, स्वास्थ्यकेन्द्रमा एम्बुलेन्स नपुग्दा बिरामी रिफर गर्न सकिएन–स्वास्थ्यकेन्द्र प्रमुख, एम्बुलेन्स कार्यकर्ता बोक्दै, सांसद भाषण ठोक्दै

1395
views

महेन्द्र जिसी
पर्वत, २० वैशाख । स्थानीय तहको निर्वाचनमा मत माग्न उम्मेदवारहरुले बिरामी बोक्ने एम्बुलेन्सको प्रयोग गरेका छन । फलेवास नगरपालिकाको खानीगाउँमा एमाले सांसद विकास लम्सालले एम्बुलेन्सको दुरुपयोग गरेका हुन् । सांसद लम्सालकी धर्मपत्नि सो नगरपालिकाको उपमेयरकी उम्मेदवार हुन्, भने पदमपाणी शर्मा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार हुन ।
मंगलबार एमालेका खानीगाउँको चुनावी सभामा फलेवास नगरपालिका–११ पाङराङ स्वाथ्य केन्द्रको एम्बुलेन्स प्रयोग भएको हो । पर्वत क्षेत्र नम्बर २ सांसद विकास कोष मार्फत खरीद गरिएको बा १ झ ७६०५ नम्बरको एम्बुलेस चुनावी प्रचार प्रसारमा प्रयोग हुँदै आएको देखिएको छ । नेकपा एमालेको निर्वाचन विशेष कार्यक्रमका लागि कार्यकर्ता र आवश्यक सामाग्री बोक्न दलका प्रतिनिधिहरुले एम्बुलेस प्रयोग गरेको स्थानीयको भनाई छ ।
उता पाङराङ स्वास्थ्य केन्द्रका प्रमुख शयाम कुमार यादवले हिजोदेखि गएको एम्बुलेन्स बारम्बार ल्याउन आग्रह गर्दापनि अहिलेसम्म नआएको बताएका छन । यादवले भने ‘स्वास्थ्य केन्द्रमा भर्ना भएकी कमला नेपाली रिफरको अवस्थामा छिन्, मंगलवारदेखी गएको एम्बुलेन्स सम्र्पकविहिन अवस्थामा छ ।’ प्रशासनको निर्देशन अनुरुप सबै सवारी साधन सुरक्षित तथा तयारी अवस्थामा राखेको अस्पताल प्रशासनले जनाएको छ । पर्वत जिल्ला अस्पताल पर्वतका प्रमुख बुद्धि बहादुर थापाले ईलाका स्तरका स्वाथ्य केन्द्रको बारेमा जानकारी नभएको बताएका छन् । उनले भने ‘‘सरकारी नम्बर भएका कुनैपनि सवारी साधन चुनावी प्रचार प्रसारमा प्रयोग गर्नु निर्वाचन आचारसंहिता विपरीत हो ।’’ खानीगाउँ चुनावी सभालाई सांसद विकास लम्सालले संबोधन गरेका थिए भने एम्बुलेन्सले कार्यकर्ता बोकिरहेको थियो ।