एमाले र माओवादी केन्द्रबीच झडप

एमाले उम्मेदवारका छोराको हत्या

683
views

काठमाडौं,२७, बैशाख । दोलखामा गएराति एमाले र माओवादी केन्द्रबीच भएको झडपमा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् । गौरीशंकर गाउँपालिका–१ जुँगु दहबारीमा भएको झडपमा स्थानीय कुलबहादुर तामाङको मृत्यु भएको हो । झडपमा गम्भीर घाईते भएका तामाङको उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । हुप्पाका स्थायी बासिन्दा तामाङ गौरीशंकर गाउँपालिका २ का वडा सदस्यका उम्मेदवार गोरे तामाङका छोरा हुन् । झडपमा गौरीशंकर गाउँपालिका–२ का एमाले कार्यकर्ता दिलबहादुर बुढाथोकी गम्भीर घाइते भएका छन् । स्थानीय नीलकन्ठ उच्च माविका शिक्षक बुढाथोकीलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । दोहोरो झडपमा परी वडा अध्यक्षका उम्मेदवार भरत खड्कालगायत आधा दर्जन कार्यकर्ता घाइते भएको माओवादीको दाबी छ । दुवै पार्टीले झडपको घटनामा एक अर्कालाई दोष दिएका छन् । माओवादी केन्द्रले चुनाव प्रचारका क्रममा गाउँ पुगेका उम्मेदवार खड्का र पूर्वराज्यमन्त्री तथा जिल्ला इन्चार्ज देवी खड्कालगायतको टोलीलाई ढुङ्गामुढासहित आक्रमण गरिएपछि झडप भएको बताएको छ ।