चुनावी प्रचारमा प्रयोग गरिएको जीप दुर्घटना

जीप दुर्घटना हुँदा १२ जना घाइते

703
views

बेसीशहर, २७ वैशाख । – लमजुङको सुन्दरबजार नगरपालिका वडा नम्बर ५ को गहते छोर्सेिस्थत खत्रीठाँटीको भित्री सडकमा मंगलबार साँझ जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । साँझ साँढे ५ बजेतिर कांग्रेसको चुनावी प्रचारमा प्रयोग गरिएको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सुन्दरबजार नगरपालिका ५ का ३ जना कांग्रेस उम्मेदवारसहित कार्यकर्ता घाइते भएका छन् । प्रहरी निरीक्षक बुद्धिसागर पुरीका अनुसार गहतेबाट खत्रीठाटीतर्फ आउँदै गरेको ग १ ज ६१८७ नम्बरको जीप घुम्तीमा ‘ब्याक’ गर्दा बाटो भासिएर १०÷१२ मिटर तल खसेको हो । क्षमताभन्दा बढी यात्रु चढेका कारण जीप दुर्घटना भएको बताइएको छ । दुर्घटनामा सुन्दरबजार नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्षका कांग्रेसका उम्मेदवार सूर्यबहादुर गुरुङ, महिला सदस्य शारदा भट्राई, वडा सदस्य धर्म लामा लगायत रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये सुन्दरबजार नगरपालिका वडा नम्बर ५, खहरेका गोपाल तामाङ र सुदेश तमाङ साथै खत्रीठाँटीका दीपक तामाङलाई थप उपचारको लागि पोखरास्थित फेवासिटी हस्पितलमा रिफर गरिएको छ । बाँकी ९ जनाको नमुना सामुदायिक अस्पताल सुन्दरबजारमा उपचारपछि साँझ नै घर फर्केको प्रहरीले जनाएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।