आगामी साता देउवा चौंथोपटक मुलुकको प्रधानमन्त्री बन्ने निश्चित,देउवामाथी दबाबै दबाब

683
views

नवदृष्टि संवाददाता
काठमाण्डौ, १७ जेठ । आगामी साता काङ्ग्रेस सभापति शेरबहादुर देउवा चौथोपटक मुलुकको प्रधानमन्त्री बन्ने निश्चित भएको छ । देउवा चौंथो पटक प्रधानमन्त्री बन्नुपूर्व कुनै निहुँ बनाएर एमालेले संसदीय बैठकमा अवरोध पैदा गरेन भने आउँदो साता संसद्ले नयाँ प्रधानमन्त्री चयनको विधिवत् प्रक्रिया सुरु गर्नेछ । सहमतिको सरकार बनाउन राष्ट्रपतिद्वारा दिइएको समय–सीमा जेठ १७ आज समाप्त भएलगत्तै अब बहुमतीय सरकार गठनका निम्ति आह्वान हुनेछ । त्यसलगत्तै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने निश्चित छ । सत्तारुढ पक्षको उच्च तहमा जेठ १९ गतेदेखि प्रक्रिया सुरु गर्ने विषयमा छलफल भएको थियो, तर मंगलबार (१६ गते) साँझसम्म यो विषयको टुङ्गो लागेको थिएन । काङ्ग्रेस–माओवादीबीचको गठबन्धन टुटाउन विभिन्न कोणबाट गरिएका प्रयासहरु असफल भएका छन् ।
रामचन्द्र पौडेल पछाडी हटे
प्रधानमन्त्रीको चाहानामा दौडीरहेका काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पछाडी हटेका छन् । चुनावको पूर्वसन्ध्यामा पौडेल अगाडी सर्दा पार्टीमा असामान्य स्थिति उत्पन्न हुन सक्ने भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल आफैँ पछि हटेका हुन । काङ्ग्रेसका कतिपय नेताहरूले संसदीय दलमा शेरबहादुर देउवाविरुद्ध अविश्वास प्रस्ताव ल्याउनका लागि दिएको सुझावलाई पनि नेता पौडेलले अस्वीकार गरेको स्रोतले जनाएको छ । काँग्रेस नेता रामचन्द्र पौडेललाई पे्ररित गरेर राजनीति खेल्ने योजनामा रहेको एमाले तत्कालका लागि रामचन्द्रकै कारण पछि हट्न बाध्य भएको छ ।
मत सुरक्षित गर्ने एमालेको संकेत
नेकपा एमालेले प्रधानमन्त्रीका लागि हुने निर्वाचनमा आफ्नोतर्फबाट उम्मेदवार बनाउने या नबनाउने भन्ने विषयमा कुनै निर्णय गरिसकेको छैन । देउवासँगको प्रतिस्पर्धामा वामदेव गौतमलाई उभ्याएर आफ्नो मत सुरक्षित राख्ने पक्षमा एमाले नेतृत्व रहेको बुझिन्छ । नयाँ बन्ने सरकारमा मधेसकेन्द्रित दल राष्ट्रिय जनता पार्टी र राप्रपालाई पनि सामेल गराउन सभापति देउवाले आन्तरिक कसरत गरिरहेका छन् ।
दबाबै दबाबमा देउवा
शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन हुने निश्चित भएपछि काङ्ग्रेसभित्र मन्त्री बन्न इच्छुकहरूको चर्को दबाबमा देउवा परेका छन् । मन्त्रिमण्डलमा यसअघि माओवादीले लिएका मन्त्रालयहरू काङ्ग्रेसले लिने र काङ्ग्रेसले सम्हालेका मन्त्रालयहरू माओवादीले लिने भन्ने सामान्य सहमतिको स्थिति रहे पनि त्यसमा केही फेरबदल हुन सक्ने सम्भावना देखिएको छ । काङ्ग्रेसका कतिपय नेताहरूले अर्थ मन्त्रालय माओवादीलाई छोडेर काङ्ग्रेसले गृह राख्न देउवालाई सुझाएको बताइन्छ । तर, माओवादी गृह मन्त्रालय आफूसँग राख्न हतारिएको छ । जनार्दन शर्मा प्रभाकर र टोपबहादुर रायमाझीबीच गृह मन्त्रालय हात पार्न सुरु भएको प्रतिस्पर्धाले असहज स्थिति पैदा गरेको अवस्थामा मात्रै प्रचण्ड गृह मन्त्रालय काङ्ग्रेसलाई छोड्न बाध्य हुने ठानिएको छ ।
चर्चामा रहेका सम्भावित मन्त्रीहरु
नेपाली काङ्ग्रेसमा गोपालमान श्रेष्ठ, डा. रामशरण महत, डा. नारायण खड्का, एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, डीना उपाध्याय, प्रकाशमान सिंह, दीपक कुइँकेल, ज्ञानेन्द्रबहादुर कार्कीको नाम सम्भावित मन्त्रीका रूपमा चर्चामा आएको छ । प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री रहेका कसैलाई पनि दोहो¥याउन नहुने पौडेलपक्षको तर्क रहेको छ ।