आफ्नै श्रीमती हत्या गर्ने श्रीमान र जेठाजुलाई २० वर्ष कैद

643
views

नवदृष्टि संवाददाता
विरगंज, १९, जेठ । आफ्नै श्रीमती र बुहारी हत्या गर्ने दुईजनालाई बारा जिल्ला अदालतले २० बर्ष कैदको फैसलापछि कारागार चलान गरेको छ । बारा हरैया–३ की मञ्जुदेवी यादवको हत्यामा संलग्न दुईजनालाई कैद भुक्तान गर्न कारागार चलान गरिएको हो । मञ्जुदेवीका श्रीमान गगनदेव यादव र जेठाजु सत्यनारायण राउत अहिरलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
मृतक मञ्जु देवीलाई निजकै श्रीमान गगनदेव प्रसाद यादव, जेठाजु सत्यनारायण प्रसाद यादव, जेठानी जननी देवी यादव र गाउँकै भागिन्द्र प्रसाद यादव समेतको मिलोमतो र संलग्नतामा आगो लगाई कर्तव्य गरी हत्या गरेका थिए । अन्य दुईजना अझै फरार रहेको प्रहरीले जनाएको छ ।
हत्यापछि मृृतकको लाश भारततर्फ लगि बेपत्ता पारेको कर्तव्य ज्यान मुद्दामा पुनरावेदन अदालत हेटौडाले उनीहरुलाई सर्वस्व सहित जन्मकैदको फैसला सुनाएको थियो । बारा जिल्लाबाट खटिएको प्रहरी टोलीले फरार रहेका लखन राउत अहिरको छोरा गगनदेव प्रसाद यादव र जेठाजु सत्यनारायण राउत अहिरलाई गाउँमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरी बारा जिल्ला अदालतमा पेश गरेको थियो ।
पक्राउ परेका अभियुक्तलाई बारा जिल्ला अदालतको आदेशले मिति २०९४/०२/१४ गते सम्म रहने गरी उनीहरुलाई कैद भुक्तान गर्न जिल्ला कारागार कार्यालय बिरगंजमा पठाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक राजेन्द्रबाबु रेग्मीले बताउनुभयो ।