प्रदेश र संघीय निर्वाचनपछि देशमा राजनीतिक संक्रमणको अन्त्यः प्रचण्ड

630
views

काठमाडौं, १८ जेठ । लगानी बोर्डको २६ औं बैठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र संघीय निर्वाचन सम्पन्न भएपछि देशमा राजनीतिक संक्रमणको अन्त्य बताउनुभयो । बिहीबार लगानी बोर्डको कार्यालयमा बसेको बैठकमा बोल्दै प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो ।
‘प्रचण्ड’ले आर्थिक समृद्धि र विकासका आयोजनाहरुमा थप प्रगति हासिल हुने आशा लिएको बताउँदै जनताले खोजेको आर्थिक समृद्धि हो, विकास हो, अब देशको सम्पूर्ण ध्यान त्यहीँ केन्द्रित हुनुपर्दछ ।’ प्रधानमन्त्री प्रचण्डले आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिए पनि विकास र समृद्धिमा सधैं साथमा रहेको बताउनुभयो । ‘प्रधानमन्त्री पदबाट राजीनामा दिइसकेको छु, लगानी बोर्डको बैठकमा अन्तिमपटक अध्यक्षता गर्दैछु । तर, विकास र समृद्धिका सवालमा म सधैं तपाईहरुको साथमा छु’, उहाँले भन्नुभयो ।
बैठकले लगानी बोर्डको कार्यालयका लागि नेपाल सरकारले आर्थिक वर्ष २०७४÷०७५ का लागि छुट्याएको ११ करोड, ५८ लाख ४० हजार रुपैंया बजेटलाई अनुमोदन गरेको छ । आजको बैठकले स्टाण्डर्ड अपरेटिङ प्रोस्युडर (एसओपी) को मस्यौदा तयार गर्न लगानी बोर्डका उपाध्यक्ष एवं उद्योगमन्त्रीको नेतृत्वमा ९ सदस्यीय कार्यदल समेत गठन गरेको छ । बैठकले लगानी प्रवद्र्धनलाई प्रभावकारी बनाउन बोर्डका उपाध्यक्ष तथा उद्योगमन्त्रीकै नेतृत्वमा ८ सदस्यीय रणनीतिक योजना निर्देशक समिति पनि गठन गरेको छ । बैठकले माथिल्लो कर्णाली र अरुण तेस्रोको वित्तीय व्यवस्थापनका विषयमा अध्ययन गरी आगामी बैठकमा निर्णयार्थ पेश गर्ने, काठमाडौं उपत्यकामा मेट्रो रेल परियोजना सञ्चालनका लागि गठन गरिएको राय सुझाव समितिको प्रतिवेदन बुझाउने समयलाई तीन महिना म्याद थप गर्ने निर्णय पनि गरेको छ ।