गोरखाका ग्रामीण सडकमा जोखिम मोल्छन् सवारी चालक

845
views

गोरखा, १२, असार । गोरखामा तनहुँको आँबुखैरेनीदेखि गोरखा बजारसम्म पक्की सडक भएपनि अन्य ग्रामीण सडकमा पक्की सडक नभएका कारण सवारीचालक जोखिम मोल्न बाध्य बनेका छन् । सवारी चालकहरु जोखिम मोलेरै सवारी साधन ओहोरदोहोर गरिरहेका छन् । यातायात ब्यवसायी समिति गोरखाले सडक सञ्जाल पुगेको जिल्लाको प्राय सबै ग्रामीण क्षेत्रमा यातायात सञ्चालन गर्दै आएपनि ग्रामीण सडकमा गुड्ने सवारीहरु कच्चीबाटो, हिलो, पहिरो छिचोल्दै गन्तब्यसम्म पुग्ने गरेका छन् ।

जिल्लाको भच्चेक, बारपाक सडकखण्ड, आरुघाट सोती सडक खण्ड, गोरखा–फुजेल सडक खण्डमा सवारी चालकहरु जोखिम मोल्न वाध्य भएको यातायात ब्यवसायीहरु बताउँछन् । ‘अहिलेसम्म जोखिम नै मोलेर भएपनि सेवा दिइरहेका छौँ’ यातायात ब्यवसायी समिति गोरखाका अध्यक्ष रामहरि केसीले भने ‘हामीले सेवा दिनैपर्ने तर पानी परेपछि सेवा दिन नसक्ने क्षेत्रहरु छन् ।

भच्चेक, लक्ष्मीबजार तीनमाने, सौरपानी, ताकुकोट, बोर्लाङ क्षेत्रमध्ये पनि सौरपानी सडक खण्डमा त गाडी जान छोडिसक्यो । अब भच्चेक, सौरपानी तीनमाने सडक खण्डमा पनि ठूलो पानी पर्ने वित्तिकै यो बन्द हुन्छ ।’ गोरखाका यी ग्रामीण सडकहरुमा अब भदौ अगाडि नियमित सवारी आवतजावत नहुने ब्यवसायीहरु बताउँछन् ।