चीन–भारत विवादका कारण नाथुला नाका अवरूद्ध

973
views

कैलाश मानसरोवर आवतजावत गर्ने नाथुला नाका चीन–भारत विवादका कारण अनिश्चितकालका लागि अवरूद्ध हुने भएको छ । बुधबार राजधानी बेइजिङमा आयोजित परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता लु खाङले भारतले त्रुटी नसच्याएसम्म नाका नखुल्ने स्पष्ट पारेका छन् ।
चीन–भारत सीमा अन्तर्गत सिक्किम क्षेत्रमा भारतीय सुरक्षागार्ड चीनमा प्रवेश गरेको भन्दै चीनले कैलाश मानसरोबर यात्रामा जाने तीर्थालुका लागि दुई वर्षअघि मात्र खोलिएको नाथुला नाका पुनः बन्द गरेको हो । चीनका राष्ट्रपति सी जिनपिङ पहिलो पटक भारत भ्रमणमा जाँदा तीर्थालुका लागि ५० वर्षदेखि बन्द रहेको नाका खोल्ने सहमती भएको थियो ।
‘भारतीय तीर्थयात्री नाथुला नाका हुँदै समयमै तिब्बत पुग्न नसक्नुको जिम्मा भारतले लिनुपर्छ’, प्रवक्ता लुले बेइजिङमा भने, ‘कहिले खुल्छ भन्ने कुरा चाहिं भारतले जतिसक्दो चाँडो आफ्नो त्रुटी सच्याउँछ, त्यति छिटो खुल्छ ।’ चीन–भारतको नेतृत्व तहमा भएको सहमति अनुसार चीन–भारत सीमाको सिक्किमबाट तिब्बत प्रवेश गर्ने नाथुला नाका जुन २०१५ मा खोलिएको थियो । नाका खुलेसँगै भारतीय तीर्थयात्री नाथुलाबाट तिब्बतको बाटो भएर कैलाश मनसरोवर जाने गरेका थिए ।
‘भारतीय तीर्थयात्रीको मानसरोवर यात्रालाई मध्यनजर गरी चीनका सम्बन्धित विभागले यसवर्ष पनि आवश्यक तयारी पूरा गरेका थिए’, प्रवक्ता लुले थपे, ‘नाथुला नाका स्थगित हुनुको कारण भारतीय सीमा रक्षकले अवैध रुपमा सीमा लाइन पार गर्नु हो, त्यसकारण चीनले चालेको यो आकस्मिक कदम थियो ।’ चीनले भौगोलिक सार्वभौमसत्तामाथि कुनै सम्झौता नगर्ने अडान लिँदै भारतीय पक्षले तत्कालै आफ्ना सीमारक्षकलाई त्यहाँबाट फिर्ता लग्न चेतावनी दिएको छ । चीनले सोमबारदेखि नाथुला हुँदै तिब्बत प्रवेश गर्ने तीर्थयात्रीलाई भ्रमणमा प्रतिबन्ध लगाएपछि भारतीय तीर्थयात्री अलपत्र परेका छन् ।