भारतले चीनसँगको विवादित क्षेत्रमा सेना परिचालन गरेपछि तनाव

1022
views

काठमाडौं, १९, असार । भारतले चीनसँग सीमा जोडिएको सिक्किम क्षेत्रमा आइतबार ठूलो संख्यामा सैन्य बल तैनाथ गरेको छ । भुटानी भूमि डोक्लाममा चीनले अतिक्रमण गरेको भन्दै भुटानका पक्षमा भारतले आइतबार सैन्य शक्ति परिचालन गरेको हो। ठूलो संख्यामा भारतले सिक्किम क्षेत्रमा सैनिक परिचालन गरेको भनिए पनि यकिन संख्या स्पस्ट भएको छैन। भारतीय संचारमाध्यममा परिचालित सैनिक संख्याबारे फरक फरक विवरण आइरहेका छन्।
आइतबार परिचालित भएका भारतीय सैनिक चिनियाँ सैनिकसंग नभिड्ने तर उनीहरुको गतिविधि अनुगमन गर्ने हिसाबले मात्रै परिचालन भएको भारतीय संचारमाध्यमले जनाएका छन्।
सन् १९६२ मा भएको चीन भारत सीमा युद्दपछि यति ठूलो संख्यामा भारतले सीमावर्ती इलाकामा सुरक्षाबल तैनाथ गरेको पहिलो पटक रहेको भारतीय संचारमाध्यमले जनाएका छन्।
भुटानको आग्रह पछि भारतले त्यहाँ सैनिक शक्ति बढाएको हो। डोक्लाम भारत, भुटान र चीनबीचको त्रिपक्षीय सीमाबिन्दु पर्छ। आफ्नो सीमा नजिक भारतीय सेनाको अतिरिक्त फौज परिचालन भएपछि चीन थप सतर्क बनेको छ।
स्केचमा विवादित क्षेत्र
चिनियाँ सैनिकले भुटानको भूभागमा सडक बनाएको आरोप भारतले लगाएको छ। चीनले उक्त आरोपको खण्डन गर्दै चिनियाँ भूभागमा भारतीय सेना जबरजस्ती प्रवेश गरी चिनियाँ सेनाको गतिविधिमा अवरोध पु¥याएको बताएको छ।
चीनले भारतीय सैनिक आफ्नो भूमिमा प्रवेश गरेको भन्दै भारतसमक्ष कडा विरोध जनाएको छ भने भारतले पनि चीनसंग त्यसको जवाफी वक्तव्यसहित आफ्नो तर्फबाट प्रतिवाद गरेको छ।
‘बेलायत र चीनबीच सिक्किम र तिब्बतका बिषयमा सन् १८९० मा भएको महासन्धि अनुसार डोक्लाम चीनको भूभाग हो भन्ने स्पस्ट छ। भारतीय सैनिक चिनियाँ भूभामा प्रवेश गरेका हुन्’, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङ्ले भन्नुभयो। भातले आफ्ना सैनिक हटाएर चीनको भौगोलिक अखण्डताको रक्षा गर्नुपर्ने उहाँले तर्क गर्नुभयो।
भारतीय सैनिक चिनियाँ भूभागमा प्रवेश गरी उक्त महासन्धि र भारत र चीनबीच भएका अन्य सम्झौताको उल्लंघन गरेको चिनियाँ भनाइ छ।
चीनले डोक्लाम आफ्नो भूभाग रहेको बताउँदै भारतीय सैनिक फौज चिनियाँ भूभागमा पहिला प्रवेश गरेको दाबी गरेको छ। भारतीय सैनिक त्यहाँबाट तत्काल फिर्ता हुनुपर्ने सर्त चीनले राखेको छ।
‘भारतीय सैनिकले चिनियाँ भूमि कब्जा गरेका छन्। उनीहरु त्यहाँबाट नहटेसम्म सार्थक संवाद हुनसक्दैन’, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले हालै बेइजिङ्मा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो। भारतले चिनियाँ सैनिक पहिला डोक्लाममा प्रवेश गरी भारतीय भूभाग मिचेको दाबी गरेको छ।
नाथुला नाका हुंदै चीनको कैलाश मानसरोवर क्षेत्रको भ्रमणमा जाँदै गरेका ४७ जना भारतीय पर्यटकलाई चीनले आधा बाटोमै रोकेपछि दुई देशबीच तिक्तता बढेको छ।
केही दिन यता डोक्लाम क्षेत्रमा उत्पन्न तनावबारे चीन र भारतबीच आरोप प्रत्यारोप र वक्तव्यबाजी चलेको छ। चीन र भुटानबीच लामो समय यता यस क्षेत्रमाथि स्वामित्व दाबी छ। कूटनीतिक सम्बन्ध समेत नरहेका एसियाका यी दुई मुलुकबीच विगतमा सीमा विवाद हल गर्न वार्ता भएपनि सफल भएनन्।
भारत नियन्त्रित मुलूक भुटानले चीनसँगको आफ्नो सीमा विवादमा भारतलाई हारगुहार गरेको विश्लेषण बेइजिङ्मा भइरहेको छ। सन् १९६२ भएको सीमा युद्द पछि बेला बखत दुई देशबीच सीमा विवाद बल्झिने गरेका छन्। विद्यमान सिक्कीम क्षेत्रमा उत्पन्न विवाद भारत र चीनबीच नभई भारतले भुटानको सीमा रक्षामा आफ्नो फौज खटाएपछि उत्पन्न भएको अन्र्तराष्ट्रिय विदेश मामिला विश्लेषक बताउछन्। भारत चीन ३४८८ किलोमिटर अन्तरदेशीय सीमा मध्ये २२० किलोमिटर सिक्किम क्षेत्रमा पर्छ।
भारतले यो क्षेत्रलाई चीनसँगको रक्षाकवचका रुपमा लिने गर्छ। भारतले सिक्किमलाई १९७६ मा आफूमा विलय गराएपछि चीनसंग सीमा जोडिएको सिक्किमको सुरक्षामा बिशेष जोड दिने गरेको छ । एजेन्सीको सहयोगमा (अन्नपुर्ण पोष्टबाट)