परराष्ट्रमन्त्री दिल्लीमा ः राष्ट्रसंघका लागि नेपालको पक्षमा समर्थन खोज्दै

627
views

तीन दिने भारत भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले दिल्लीमा सघन छलफल थालेका छन् । आइतबार बिहान दिल्ली पुगेका महराले साँझ नै दिल्लीस्थित नेपाली दुतावासमा नेपाल हेर्ने केही गैरआवासीय राजदुतहरुसँग छलफल गरेका हुन् ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराजको निमन्त्रणमा दिल्ली गएका महराले संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदमा नेपाललले दिएको उम्मेदवारीको पक्षमा समर्थन खोज्न गैरआवासीय राजदुतहरुसँग छलफल गरेको भारतस्थित नेपाली दुतावासले जनाएको छ ।
परराष्ट्र मन्त्री महराका स्वकीय सचिव युवराज चौलागाईंले ८९ मुलुकका नेपालका लागि गैरआवासीय राजदुतहरुसँग छलफल गर्ने कार्यक्रम रहेको जानकारी दिए । ‘धेरै देशले नेपाललाई नयाँदिल्लीबाटै समन्वय गर्छन् । ती सबै राजदूतहरुलाई एकै ठाउँमा जम्मा गराएर परराष्ट्रमन्त्री महराले नेपालको परराष्ट्र नीतिबारे जानकारी गराउँदै आपसी हितका क्षेत्रहरुबारे छलफल गर्नु हुनेछ,’ चौलागाईंले भने ‘यस्ता कुटनीतिक भेलाहरु एकदमै कम हुने गर्छन् । यसले नेपालको हित गर्ने निश्चित छ ।’ नेपालसँग कुटनीतिक सम्बन्ध भएका विश्वका एक सय ४६ मुलुक मध्ये ८९ मुलुकले नेपाललाई नयादिल्लीस्थित राजदूतावासबाट समन्वय गर्छन् ।छलफलका क्रममा महराले आफ्ना सबै मित्रराष्ट्रका राजदूतसँग संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदमा दरिलो उम्मेदवारी रहेको भन्दै निर्वाचनमा समर्थन गर्न आग्रह गरे । नेपालले सन् २०१८ देखि २०२० सम्मका लागि संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको अस्थायी सदस्यमा उम्मेदवारी दिएको छ ।
आइतबार ८९ मध्ये आधा देशका गैरआवासीय राजदुतहरुसँग छलफल भएको थियो । दिल्ली स्थित नेपाली दुतावासका अनुसार कार्यक्रममा परराष्ट्रमन्त्रालएको संयुक्त राष्ट्रसंघ महाशाखा प्रमुख सहसचिव भरतराज पौड्यालले नेपालमा मानवअधिकारको अवस्थाबारे प्रतिवेदन पेस गरेका थिए । कार्यक्रममा कतिपय दुतावास प्रमुखहरुले भने खुलेरै नेपाको समर्थन गर्ने आश्वासन दिएको चौलागाइँले बताए ।
राजनीतिक अवस्थाबारे बिफ्रिङ
परराष्ट्रमन्त्री महराले छलफलका क्रममा गैरआवासीय राजदुतहरुलाई नेपालको पछिल्लो राजनीति अवस्थाबारे पनि ‘ब्रिफ’ गरेका थिए। महराले विश्वभरका मित्र राष्ट्रसँगको सम्बन्धलाई उच्च महत्व दिनुका साथै आपसी सहयोग तथा सहकार्यलाई केन्द्रमा राखिएको बताए। पछिल्ला वर्षमा नेपालमा भइरहेको ऐतिहासिक परिवर्तनका विषयमा मित्रराष्ट्रलाई चासो भएको भन्दै उनले संविधानसभाले बनाएको संविधान कार्यान्वयनमा आएसँगै नेपालमा शान्ति र प्रजातन्त्रको नयाँ युग सुरु भएको उल्लेख गरेका थिए ।
छलफलका क्रममा महराले नेपालको नयाँ संविधानबारे पनि बोलेका थिए। उनले वर्तमान संविधान प्रगतिशील तथा अग्रगामी रहेको बताउँदै संविधानले सबै क्षेत्रका नेपाली समाजको चाहना तथा आकांक्षाको रक्षा गरेको बताएका थिए ।
महराले मुलुक सकारात्मक विकासको बाटोमा रहेको भन्दै राजनीतिक परिवर्तन, शान्ति प्रक्रिया तथा मानव अधिकारका क्षेत्रमा हासिल गरेको उपलब्धिका विषयमा नेपालले अन्तरराष्ट्रिय समुदायसँग अनुभव बाँड्न चाहेको राजदुतहरुलाई बताएका थिए। सो अवसरमा सहभागी राजदूतले नेपालले प्राप्त गरेको उपलब्धिमा शुभकामना व्यक्त गर्दै शान्ति र प्रजातन्त्र तथा नेपालसँग थप द्विपक्षीय सम्बन्ध विकासको अपेक्षा गरेको भारतस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। परराष्ट्रमन्त्री महराले गैरआवासीय राजदूतसँगको छलफललाई आज पनि निरन्तरता दिने कार्यक्रम रहेको छ।
महरा नेतृत्वको टोलीमा मन्त्री महरा,स्वकीय सचिव चौलागाई, परराष्ट्रमन्त्रालयका सहसचिव तथा संयुक्त राष्ट्रसंघ डिभिजन प्रमुख एवं मन्त्रालयका प्रवक्ता भरतराज पौड्याल, मन्त्रालयका सहसचिव तथा भारतसहित दक्षिण एशिया डिभिजन प्रमुख भृगु ढुंगाना छन् । नेपाल खवरबाट