उपराष्ट्रपतिको चिन भ्रमणमा सिल्क रोड (रेशम मार्ग) बारे सम्बोधन हुने

747
views

काठमाण्डौ, २०, असार । उपराष्ट्रपति नन्दबहादुर पुन चीनले आयोजना गरेको ‘२३ औँ चीन–लान्जाउ लगानी तथा व्यापार मेला’मा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । सो मेला चीनको गान्सु प्रान्तको राजधानी लान्जाउमा आयोजना गरिएको छ । उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीनको भ्रमणमा लागेका पुनले सिल्क रोडबारे विशेष सम्बोधन गर्नेछन् । उपराष्ट्रपति पुन बिहान १०ः४० मा एयर चाइनाको बिमानमार्फत चीन जान लागेको उनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।
उपराष्ट्रपति पुनले यही असार २२ गते विकास र सहयोगका लागि उच्चस्तरीय मंचमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले सोमवार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उपराष्ट्रपतिको सम्बोधन बहुचर्चित सिल्क रोड (रेशम मार्ग) र सहयोगका विविध आयामका बारेमा केन्द्रित रहने बताइएको छ ।
चीनका व्यवसायी एवं उद्योगीसँग ‘नेपाल–चीनबीच आर्थिक तथा व्यापारिक सहयोग आदानप्रदान’ विषयको सम्मेलनमा समेत उपराष्ट्रपतिले यही असार २३ गते सम्बोधन गर्ने तथा लान्जाउमा रहँदा उच्च चिनियाँ नेता एवं अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

उपराष्ट्रपति पुनले चीनको सान्सी प्रान्तको सियान र येनानको समेत भ्रमण गर्नेछन्। सो अवसरमा उपराष्ट्रपतिसँग उक्त प्रान्तका नेताहरुले शिष्टाचार भेटवार्ता गर्नेछन् । उपराष्ट्रपतिको भ्रमण टोलीमा उनकी श्रीमती हस्तमाली, उपराष्ट्रपति कार्यालयका सचिव नारायणगोपाल मलेगो र अन्य अधिकारी तथा परराष्ट्र र वाणिज्य मन्त्रालयका अधिकारीको समेत सहभागिता रहनेछ । उपराष्ट्रपति पुन यही असार २६ गते स्वदेश फर्कने कार्यक्रम छ ।