चीनमा उत्कृष्ट बनेका नेपाली विद्यार्थी बेईजिङमा दिक्षित

1994
views

बेईजिङ । चीनकै सबैभन्दा प्रतिष्ठित युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्सेस् (युकास) बाट उत्कृष्ट नतिजा हासिल गर्न सफल नेपाली विद्यार्थी बुधबार बेइजिङमा दीक्षित भएका छन् । उनीहरूलाई युकासका भाइस प्रेसिडेन्ट प्रोफेसर डाक्टर ऊ युलाङले बेइजिङको यू छ्वान लूस्थित युकासको मुख्यालयमा सम्मान गरे ।
सन् २०१७ मा पिएचडी गरेका १० उत्कृष्ट विदेशी विद्यार्थीमध्ये तीनजना नेपाली विद्यार्थीहरु भूपति न्यौपाने, जनकराज खतिवडा र नारायणप्रसाद कोजुले हासिल गरेको नतीजा चीनकै सबैभन्दा उच्च हो । जनक र भूपति २०१६ मा पनि १० उत्कृष्ट सूचीमा परेका थिए । त्यसैगरी २० जना उत्कृष्ट विदेशी विद्यार्थीहरुमा नेपाली विद्यार्थी टिष्टा प्रसाईं पनि परेकी छन् ।फरक क्षेत्र र युकासका फरक इन्स्टिच्युटबाट अनुसन्धान गरेका तीनै विद्यार्थीका शोध विश्वकै ख्यातिप्राप्त जर्नलहरुमा प्रकाशित गरिएको छ भने चीनका विभिन्न सहरमा र प्राज्ञिक वृत्तमा कार्यपत्र र खोज अनुसन्धानको निचोड प्रस्तुत भएको छ । उनीहरुको उत्कृष्ट नतिजालाई युकासको वेबसाइटमा पनि राखिएको छ ।
युकासको बेइजिङस्थित कलेज अफ अर्थ साइन्सबाट पिएचडी गरेका भूपति न्यौपानेले इन्डियन र युरेसियन प्लेट ठोक्किनुअघि र पछिको नेपालको दक्षिणी भागमा भएको भौगर्भिक परिवर्तनबारे चट्टानको नमूना संकलन गरी अध्ययन गरेका थिए। उनले नेपालमा कोइलाखानीको संभाव्यताबारे पनि अध्ययन गरेका छन्। न्यौपानेले भने, ‘यो खोज तथा अनुसन्धानले भविष्यमा नेपाललाई धेरै फाइदा पुग्ने आशा गरेको छु।’
युकासकै छङ्तु इन्स्टिच्युट अफ बायोलोजीबाट पिएचडी गरेका जनकराज खतिवडाले भ्यागुताको नयाँ प्रजाति पत्ता लगाएका छन् । आफ्नो पिएचडीको थेसिसका क्रममा उनले पूर्वी नेपालको कोशीका विभिन्न क्षेत्रमा अनुसन्धान गरेका छन् । झापाको जामुनखाडीमा उनले पत्ता लगाएको सानो भ्यागुताको वैज्ञानिक नाम माइक्रोहाइला तराइन्सिस हो । यो भ्यागुता धानबारीमा पाइने र आकारका हिसाबले मानिसको बुढी औँलाको नङ बराबर हुने उनले बताए । उनले इलामको माइपोखरीमा छेपारोजस्तै देखिने अर्को नयाँ प्रजातिको ठकठके नामको भ्यागुतो पनि पत्ता लगाएका छन् जसको वैज्ञानिक नाम ट्य्लोटोट्रिटोन हिमालयनुस हो । नेपालमा ५२ प्रजातिका भ्यागुता रहेकोमा खतिवडाले नयाँ दुई प्रजातिको फेला पारेपछि त्यो संख्या हाल ५४ पुगेको छ ।
चीनको युन्नान प्रान्तको खुन्मिङमा रहेको युकासकै इन्स्टिच्युट अफ जुलोजीबाट पिएचडी गरेका नारायणप्रसाद कोजुले हिमाली क्षेत्रमा पाइने मुसा जस्तै लोखर्केको अध्ययन गरेका छन् । उनले विभिन्न अन्तराष्ट्रिय जर्नलमा आफ्नो अनुसन्धान प्रमाणित गरी लेख प्रकाशन गरेका छन् । कोजुले त्रिभुवन विश्वविद्यालयबाट पनि पिएचडी गरेका छन् ।
उत्कृष्ट २० विद्यार्थीको सूचीमा परेकी टिष्टा प्रसाइँ युकासको रिसर्च फर इको इन्भाइरोन्मेन्ट साइन्समा अध्ययन गरेकी छन्। उनले नेपाललगायत दक्षिण एसियाली मुलुकको वातावरणीय प्रभावमा अनुसन्धान गरी विभिन्न अन्तर्रा्ष्ट्रिय जर्नलमा आफ्ना लेख प्रकाशन गरेकी छन् ।
यसैबीच बेइजिङ नर्मल युनिभर्सिटीबाट यसै वर्ष पब्लिक म्यानेजमेन्टमा स्नातकोत्तर उत्तीर्ण भएकी नेपाली विद्यार्थी सुष्मा धिताल चीनमा अध्ययनरत १७०० विदेशी विद्यार्थीमध्ये उत्कृष्ट आठमा परेकी छिन्। उनलाई विश्वविद्यालयले एक कार्यक्रमको आयोजना गरी अवार्ड प्रदान गरेको छ।
बेइजिङस्थित युकासकै इन्स्टिच्युट अफ जोग्राफीबाट पिएचडी गरेका वसन्त पौडेलले आफ्नो इन्स्टिच्युटभित्रको आन्तरिक प्रतिस्पर्धामा दुई फरक अवार्ड जित्न सफल भएका छन्। नेपालको कोसी बेसिनलाई मुख्य आधार बनाएर कृषिमा जलवायु परिवर्तनको प्रभावमा उनले अनुसन्धान गरी अन्तराष्ट्रिय जर्नलमा प्रकाशन गरेका छन् ।
चिनियाँ वैज्ञानिक उत्पादनको थलो मानिने युकासको चीनमै सयौँ इन्स्टिच्युट छन् भने युकासको युरोप र पश्चिमा मुलुकसँग पनि सहकार्य भएकाले विश्वभरिका विद्यार्थीको आकर्षण बनेको छ । युकासले नेपालको त्रिभुवन विश्वविद्यालयसँग पनि सहकार्य गरिरहेको छ । प्रतिष्ठित शैक्षिक संस्था भएकाले युकास चिनियाँ प्रोफेसरको पनि पहिलो रोजाइमा पर्दछ । नेपाल खबरबाट