जी २० को ‘डिनर डिप्लोमेसी’, विश्वका नेताहरुको बसाइको चर्चा

909
views

एजेन्सी, २४, असार । जर्मनीको ह्याम्वर्गमा व्यापार, जलवायु परिवर्तन, आतंकवादजस्ता मुद्दामा केन्द्रित जी २० बैठक चलिरहेको छ । सो बैठकमा धेरैको चासो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका बीचको भेट थियो । शुक्रबार दुई विश्व नेताबीच बहुप्रतीक्षित भेट पनि सम्पन्न भयो । अनेकौँ मुद्दामा असहमतिका बाबजूद दुई नेताबीचको ‘केमेस्ट्री’ मिलेको विश्लेषकहरुले बताएका छन् ।

शुक्रबार राती नै जी २० नेताहरुका लागि रात्रीभोज आयोजना गरिएको थियो । भोजमा पतिपत्नी सहित उपस्थित विश्वका नेताहरुको बसाइको स्थानले निकै चर्चा पाएको थियो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नजिकै अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प बसेपछिको चर्चा झनै बढी थियो । आयोजक राष्ट्र जर्मनीकी चान्सलर एञ्जेला मर्केल टेबलको मध्य भागमा अजेन्टिनी राष्ट्रपति मौरिसियो म्याक्रीको नजिक बसेकी थिइन् भने अमेरिकी राष्ट्रपति ट्रम्प अर्जेन्टिनी प्रथम महिला जुलियाना अवाडानजिकै बसेका थिए । त्यसैगरी चिनियाँ राष्ट्रपति सी जिनपिङ फ्रान्सेली प्रथम महिला ब्रिजिट म्यक्रोँसँग कुराकानी गरिरहेका देखिन्थे भने फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ चिनियाँ प्रथम महिला पेङ ल्युआन नजिक बसेका थिए । बैठक चलिरहँदा बाहिर भने व्यापक विरोध प्रदर्शन भइरहेको छ ।