२ सय ४० निर्वाचन क्षेत्रको विपक्षमा उपप्रधानमन्त्री– महरा

637
views

दाङ, ३१, असार । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले २ सय ४० निर्वाचन क्षेत्रलाई कायम राख्न सत्तारुढ कांग्रेस– माओवादीले गरिरहेको पहलको बिपक्षमा देखिएका छन् । उनले यो बिषय अहिले चर्चामा आएको भएपनि यो औपचारिक नभएको दाबीसमेत गरे ।
‘बाहिर आएजस्तो २ सय ४० निर्वाचन क्षेत्र कायम राख्ने भन्ने बिषयले टुंगो पाउँदैन, यो असम्भव लाग्छ ।’ प्रेस सेन्टर नेपाल दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री महराले भने ’यो विषय अहिले चर्चामा त आएको छ, तर यो आधिकारीक होइन ।’ उनले २ सय ४० निर्वाचन क्षेत्र कायम राख्ने भन्ने विषयमा कांग्रेस माओवादीबीच कुनै सहमति नभएको पनि दाबी गरे ।
’कांग्रेस र माओवादीबीच २ सय ४० निर्वाचन क्षेत्र कायम राख्ने भन्ने विषयमा कुनै औपचारिक सहमति भएको छैन,’ उनले भने, ’यो केवल अनौपचारिक कुरामात्रै हो ।’ उनले अहिले चर्चामा आएजस्तो अहिलेकै निर्वाचन क्षेत्रलाई कायम राख्नु असम्भव रहेको समेत बताए।
संविधानले दिएको अधिकारमा रहेर कार्यैगरिनु पर्ने भन्दै उनले २ सय ४० निर्वाचन क्षेत्र कायम गर्ने कुरा संविधानको मर्मबिपरीत हुने बताए । ’मेरो व्यक्तिगत धारणाको कुरा गर्नुहुन्छ भने म यसको पक्षमा छैन, संविधानको मर्म,सिद्धान्त पालना गर्नुपर्छ,’ उनले भने ।
’पहिले संविधान शंशोधनको मुद्दा टुंग्याइनेछ,सरकारको अहिलेको मुख्य प्राथमिकताको विषय यहि हो,’ मन्त्री महराले भने, ’त्यसपछि मात्रै मन्त्रिपरिषद विस्तार गरिनेछ ।’ उनले मधेसवादी दल (राजपा) र प्रतिपक्षी एमालेसँग हालः संशोधनको विषयमा गहन छलफल भइरहेको र यसलाई पारित गराउने प्रयासमा सरकार रहेको पनि बताए ।