बेमौसममा आन्तरीक पर्यटकको लर्को

804
views

अगन्धर तिवारी
पर्वत, १५, श्रावण । सात जना साथीहरूको समूह बनाएर पर्वतका अग्ला पुल घुम्न गोरखाबाट आएका सुमन केसीले शनिबार पनि यतै बिताए । कास्कीका रेशम अधिकारी पनि स्थानीय क्याम्पसका केही साथीहरूको साथमा कुश्माका अग्ला पुल र बागलुङसम्मको दुई दिने घुमघाममा शनिबार यहाँ आएका छन्।
उनीहरू पर्वतका अग्ला पुल घुम्न आएका हुन् । अधिकांश विद्यालय, क्याम्पसमा भएको वर्षे बिदाको उपयोग गरेर यहाँ घुम्न आउनेहरूको दैनिकजसो भीड देख्न सकिन्छ । असारसँगै आर्थिक वर्षको पनि समाप्ति भएपछि फुर्स्दिला कर्मचारी, सामाजिक संघसंस्था, बित्तीय संस्थालगायतका कर्मचारी र सञ्चालकहरूका लागि पनि पर्वतका अग्ला पुल पहिलो गन्तव्य बनेका छन् ।
‘धेरै साथीहरूबाट अग्ला पुलबारे सुने पनि हेर्न आउन भ्याएको थिइनँ,’ गोरखाका सुमन शर्माले भने, ‘रमाइलो लागेको छ ।’ मनसुनी वर्षा पनि रोकिएकाले विभिन्न जिल्लाका युवा क्लब, आमा समूह, सहकारी, सामाजिक संस्थालगायतमा आवद्ध व्यक्तिहरू बस नै रिजर्भ गरेर यहाँ घुम्न आउन थालेका छन् ।
एसियाकै अग्ला दाबी गरिएका कुश्मा–ज्ञाँदी, कुश्मा–बलेवा र कुश्मा–मुडिकुवा झोलुंगे पुल, कुश्मा–बलेवा केबलकार, कुश्मा आसपासका गुप्तेश्वर र अलपेश्वर गुफा, मोदीबेणीधामको दर्शन गर्न आउने पर्यटकको संख्यामा वृद्धि भएको हो । होटल व्यवसायी बिशम श्रेष्ठका अनुसार मध्य असारमा समेत यो वर्ष पर्यटक आगमन घटेन । ‘हिजोआज नेपालीहरूले पनि राम्रै खर्च गछन्,’ श्रेष्ठले भने, ‘विदेशीलाई मात्रै पर्यटक मान्ने सोंच अब परिवर्तन गर्नुपर्छ ।’ उनको होटलमा दैनिक २० देखि ५० जनासम्म आन्तरिक पर्यटकहरू बास बस्ने गरेका छन् ।
पर्यटन व्यवसायी नेत्र पराजुलीले कुश्मामा पर्यटनको सम्भावना बढेको बताए । ‘अग्ला पुलको मात्रै प्रचारले पनि आन्तरिक पर्यटकको संख्या बढेको छ,’ पराजुलीले भने । कुश्मा आसपासका पर्यटकीय क्षेत्रको प्रचार हुन सके आन्तरिक पर्यटकको संख्या अहिलेको भन्दा दोब्बर हुने उनको दाबी छ । मुक्तिनाथ जाने र पोखरा आउने पर्यटकहरू सीधै फर्किने गरेकोमा अग्ला पुलको प्रचारकै कारण यहाँ घुम्न आउने गरेको पर्यटन व्यवसायीहरूले बताएका छन् ।
स्थानीय तह पुनः संरचनापछि कुश्मा र आसपासको बजारकेन्द्रित व्यवसाय खस्किने बहस चलिरहेका बेला व्यवसायीहरू हल्लामा केन्द्रित बहसको पछि लाग्न नहुने तर्क गर्छन्। राष्ट्रिय गौरवको आयोजनामा समावेश कालीगण्डकी करिडोर, मोदीमा निर्माणाधीन जलविद्युत्, कालीगण्डकीको महत्त्वबारे प्रचार गर्न सके अर्बौंको पर्यटन प्याकेज बिक्री गर्न सकिने व्यवसायीको अनुमान छ। कुश्मालाई दुई किनारबाट छुट्टयाएका मोदी र कालीगण्डकी किनारका प्राकृतिक संरचनामा रक क्लाइम्बिङ, प्याराग्लाइडिङ, स्वीमिङर्, याफटिङ, बञ्जीजम्पका लागि आउने पर्यटकबाट मात्रै बर्से्नि करोडौं डलर भित्र्याउन सकिने व्यवसायीको अपेक्षा छ । पर्वतमा मुलुककै अग्लो बञ्जीजम्पको निर्माण कार्यसमेत अन्तिम चरणमा पुगेको छ ।