पाकिस्तानमा प्रधानमन्त्रीका लागि छ जना भिडदै

665
views

इस्लामाबाद, १७, श्रावण । पाकिस्तानको नयाँ प्रधानमन्त्री चयन गर्न आज हुने निर्वाचनका लागि सोमबार छ जनाले उम्मेदवारी दिएका छन् । निवर्तमान प्रधानमन्त्री नवाज सरिफलाई अदालतले भ्रष्टाचारी ठहर गर्दै पद त्याग्न दवाव दिएपछि उहाँले राजीनामा दिएकाले पाकिस्तानमा नयाँ प्रधानमन्त्री चयन गर्नुपरेको हो । सरिफको पार्टी पाकिस्तान मुस्लीम लिगको तर्फबाट सहिद खाक्वान अब्बासीले प्रधानमन्त्रीका लागि संसद सचिवालयमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।
राष्ट्रिय संसद र तल्लो सदनका सदस्यहरुले मतदान गरेर प्रधानमन्त्री चयन गर्ने कानुनी व्यवस्था रहेको छ । प्रधानमन्त्रीको प्रतिश्पर्धाका लागि अन्य पाँच पार्टीका उम्मेदवारहरूले पनि उम्मेदवारी दर्ता गरेको निर्वाचन गराउने जिम्मेवारी पाएका संसद सचिवालयलका अधिकारीहरूले जानकारी दिएका छन् ।
यसरी उम्मेदवारी दिनेमा प्रतिपक्षी दलको संसदीय दलका नेता सइद खुर्सीद शाह पनि हुनुहुन्छ । उहाँ प्रमुख प्रतिपक्षी दल पाकिस्तान पिपल्स पार्टीका नेता हुनुहुन्छ ।
अर्को प्रमुख प्रतिपक्षी दल पाकिस्तान तेह्रिक इ इन्साफको तर्फबाट सेख रसिद अहमदले प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिनु भएको छ । इस्लामिक पार्टी जमात इ इस्लामीले सहिब्जाडा तरिक्कुल्लाह र मुताहिदा क्वामी मुभमेन्टले किसवार जाहरालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएका छन् ।
पाकिस्तानमा अहिले अन्तरिमकालका लागि पाकिस्तान मुस्लीम लिग (नवाज)का सांसद तथा पूर्व तेल मन्त्री सहिद खाक्वान अब्बासीलाई अन्तरिम प्रधानमन्त्रीका रुपमा नियुक्त गरिएको छ । मुलुकको सबैभन्दा धेरै जनसङ्ख्या भएको पञ्जाव प्रान्तको मुख्यमन्त्री रहनुभएका भाई सरिफ प्रधानमन्त्री निर्वा्चित हुनुहुने निश्चितजस्तै छ ।
त्यसपछि आज दिउसो ३ः०० बजे प्रधानमन्त्रीको निर्वाचन हुने पनि सचिवालयले जनाएको छ । अदालतले भ्रष्टाचारसम्बन्धी अभियोगमा अनुसन्धान गर्दा दोषी ठहर गरेर शुक्रबार सरिफको पदमुक्तिको फैसला गरेको थियो । यो फैसलासँगै उहाँको तेस्रो कार्यकाल सकिएको छ ।