गरुडा घटनामा जवाफ माग्दै प्रमुख प्रतिपक्षि दल एमालेद्वारा संसद अवरुद्ध

874
views

काठमाडौं, २२, साउन । प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले रौतहटको गरुडामा सडकको खाल्डोमा डुबेर चार बालिकाको मृत्यु भएको घटनाको जवाफ माग्दै व्यवस्थापिका संसद बैठक अवरुद्ध गरेको छ ।
सभामुखले आगामी बैठकमा यसबारे जवाफ दिन रुलिङ गरेपछि मात्र संसद सुचारु भएको छ । आइतबारको संसद बैठकको सुरु हुनासाथ एमाले सांसदहरु उठेर विरोध जनाए । लगतै सभामुख घर्तीले प्रमुख सचेतक भानुभक्त ढकाललाई बोल्ने समय दिएकी थिइन् । उनले सडक खन्ने क्रममा बनाइएको खाडलमा डुबेर बालिकाको मृत्यु भएको घटनामा ठेकेदार र सडक डिभिजन कार्यालयको दापरबाही जिम्मेवार रहेको बताए ।
प्रहरीलाई जानकारी दिँदा पनि समयमै उद्धार नगरिएको खबर आएको भन्दै उनले यसबारे सरकारले सदनलाई जवाफ दिनु पर्ने माग गरे । लगतै एमाले सांसदहरु उठेपछि सभामुखले सरकारको ध्यानाकर्षण गराइन् । तर, एमाले सांसदहरुले चित्त नबुझाएपछि सभामुख ओनसरी घर्तीले आगामी बैठकमा यसबारे जवाफ दिन रुलिङ गरिन् । संसद बैठक आगामी २५ गते दिउँसो एक बजेका लागि राखिएको छ ।
शनिबार खाल्डोमा जमेको पानीमा डुबेर गरुडा नगरपालिका(४ का राम एकवालकी छोरी १२ वर्षीया सुनिता साह, नौ वर्षीया संगिता साह, जोगेन्द्र साहकी नौ वर्षीया छोरी सुनैना शाह र प्रेम साहकी नौ वर्षीया छोरी सुश्मिता साहको मृत्यु भएको थियो ।
ठेकेदारले सडक बनाउँदा खनेको खाल्डो नपुरेकाले पानी जम्मा भएको र त्यही पानीमा बालिकाहरु डुबेको स्थानीयबासीको भनाइ छ । घटनाको विरोधमा स्थानीयले आइतबार शव सडकमा राखेर विरोध प्रदर्शन गरेका छन् । प्रहरीले ठेकेदार मध्येका एकप्रल्हाद साहलाई पक्राउ गरेको छ ।