थापा छोडिन, राणा रोजिन् नायिका रेखा थापाले

1295
views

काठमाण्डौ । नायिका रेखा थापाले कमल थापा नेतृत्वको राप्रपा छोडेकी छन् । राप्रपा परित्यागको घोषणा गर्दै उनी पशुपति शम्शेर राणा नेतृत्वको नयाँ पार्टीमा प्रवेश गरेकी छन् । यसअघि उनी माओवादी केन्द्र परित्याग गरी राप्रपामा गएकी थिइन् । आफ्नो विचार कमल थापा पक्षसँग भन्दा पनि पशुपति शम्शेर राणा पक्षसँग मिलेको बताएकी छन् । उनले भनिन्, ‘आफ्नो लाइन मिलेकाले राप्रपा प्रजातान्त्रिकलाई रोजेकी हुँ ।’ यसअघि उनी माओवादी केन्द्रबाट राप्रपामा प्रवेश गर्दा कमल थापा देशकै नायक भएको दाबी गरेकी थिईन् । उनलाई गायिका कोमल वलीले राप्रपा प्रवेश गराएकी थिइन् । पार्टी फुटपछि रेखा राणा समूहतिर लागेपछि कोमल वली अहिलेसम्म थापा समूहमै छिन् । राप्रपाको केन्द्रीय सदस्य थापाले मंगलबार मध्यान्ह निर्वाचन आयोगमा पुगेर आफ्नो समर्थन राणालाई रहेको भन्दै नाम सनाखत गराएकी छिन् । आइतबार राणाले पार्टी फुटाएर निर्वाचन आयोगमा निवेदन दिएपछि थापाले पनि राणालाई समर्थन गर्दै नाम सनाखत गराउन आयोग पुगेको राप्रपा प्रजातान्त्रिकका नेता सगुन सुन्दर लावतीले रातोपाटीलाई बताए ।