उत्तर कोरियामाथि अमेरिकाले हमला गरे चीन चुप लागेर नबस्ने

1996
views

एजेन्सी । उत्तर कोरिया र अमेरिकाबीच पछिल्लो समयमा देखिएको तनावका विषयमा चीनमा बहसको सुरुवात भएको छ । चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले अमेरिकाविरुद्ध उत्तर कोरियाले हमला गरेमा चीन तटस्थ बस्नुपर्ने जनाएको छ । तर सो पत्रिकाले उत्तर कोरियामा सत्ता परिवर्तनको उद्देश्यले आक्रमण गरेमा चीन चुप लागेर बस्न नहुने उल्लेख गरेको छ ।
यो सरकारी अखबारले चीनले उत्तर कोरियामाथि हुने कुनै पनि हमलामाथि हस्तक्षेप गर्नुपर्ने बताएको छ । चीनमा ग्लोबल टाइम्स चिनियाँ कम्युनिस्ट पार्टीको आधिकारिक भनाईको प्रतिबिम्बका रुपमा रहेको छ । ग्लोबल टाइम्सले लेखेको छ, ‘चीनको हित प्रभावित हुनेगरी उत्तर कोरियामा हुने परिवर्तनलाई स्वीकार गर्नु हुँदैन ।’ अमेरिकाले भने उत्तर कोरियाको परमाणु कार्यक्रमविरुद्ध चीनले कुनै कदम नचालेको भन्दै आलोचना गर्दै आएको छ । यसैबीच अमेरिकी रक्षामन्त्री जेम्स माटिसले उत्तर कोरियाको परमाणु संकटलाई राजनीतिक संवादका माध्यमबाट समाधान गर्न चाहेको बताएका छन् । क्यालिफोर्नियामा बोल्दै उनले आवश्यकता परेमा अमेरिका सैन्य विकल्पका लागि पनि तयार रहेको उल्लेख गरे । यद्यपि युद्ध भएमा त्यो धेरै नै विनाशकारी सावित हुने चेतावनी दिएका छन् ।
अमेरिकी रक्षामन्त्रीको भनाई राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाईको ठीक विपरित आएको हो । यसअघि ट्रम्पले उत्तर कोरियामाथि कारबाही गर्ने संकेत गरेका थिए । उनले उत्तर कोरियाले अमेरिकाविरुद्ध कुनै पनि गतिविधि गरेमा त्यसको भारी मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए ।
उत्तरले अमेरिकी नियन्त्रणमा रहेको प्रशान्त क्षेत्रीय टापु गुआममा हमलाको योजना सार्वजनिक गरेपछि दुई देशबीच वाकयुद्ध चर्किएको हो ।
ग्लोबल टाइम्सले हालसम्म अमेरिका र उत्तर कोरियाको तनावमा चीनले दुवै पक्षलाई केही नभनेपनि चीनको हित खतरामा पर्ने अवस्था त्यसको कठोर जवाफ दिने स्पष्ट गर्नुपर्ने उल्लेख गरेको छ ।
ग्लोबल टाइम्सले लेखेको छ, ‘चीन कोरियाली प्रायद्वीपमा युद्ध र दुवै तर्फबाट हुने परमाणु प्रसारको विरोध गर्दछ । चीनले कुनै पनि पक्षबाट हुने सैन्य टकरावको पक्ष लिदैन । जो उत्तर कोरियामा सत्ता परिवर्तन गरेर चीनको हितलाई प्रभावित गर्न चाहन्छ, उसले कडा जवाफ पाउनेछ । कोरियाली प्रायद्वीपमा सबै पक्षको सामरिक हित जोडिएकाले प्रभुत्व जमाउन कोशिस नगरियोस् ।’