भुटान र श्रीलंकाका विदेश मन्त्रीसँग भारतीय विदेशमन्त्रीले दोक्लमबारे छलफल गर्दै

602
views

काठमाण्डौ । भारतीय विदेश मन्त्री सुष्मा स्वराजले आज भुटान र श्रीलंकाका विदेश मन्त्रीसँग साइडलाइन वार्ता गर्दैछिन् । बिम्स्टेक बैठकमा सहभागी हुन काठमाडौं आएकी स्वराजले भारत र चीनबीच विवाद भइरहेको दोक्लम क्षेत्रबारे छलफल गर्न लागेकी हुन् । दोक्लम क्षेत्रमा चीन र भारतबीच तनाव बढिरहेका बेला भारतीय विदेश मन्त्री स्वराजले भुटानका विदेशमन्त्री दाम्चो दोर्जी र श्रीलंकाली विदेशमन्त्रीसँग काठमाडौंमा यस विषयमा छलफल गर्न लागेकी हुन् । स्वराज बिम्स्टेक बैठकमा भाग लिन काठमाडौं आए लगत्तै भारतीय दुतावासका अधिकारीले परराष्ट्र मन्त्रालय पुगेर भुटानी विदेश मन्त्रीसँग साइडलाइन भेटवार्ता गर्ने समय मिलाइदिन आग्रह गरेका थिए । दोक्लम विवादले तनाव बढिरहेको बेला भारत र चीन आ–आफ्नो पक्षमा यस क्षेत्रका राष्ट्रहरूको समर्थन जुटाउने होडबाजीमा छन् । भारत खासगरी दक्षिण एसियाली राष्ट्रहरूको समर्थन आफ्नो पक्षमा देखाउने प्रयासमा छ। त्यसैले काठमाडौं भइरहेका साइडलाइन वार्ताहरूलाई स्वराजले दोक्लम तनावमा आफ्नो पक्षमा समर्थन जुटाउने प्रयास गरिरहेको परराष्ट्र मामिला विज्ञहरूले जनाएका छन् । आफ्नो आग्रह अनुसार नै नेपालको परराष्ट्र मन्त्रालयले साइडलाइन वार्ताका लागि भुटानसँग समय मिलाइदिएको भारतीय दुतावास स्रोतको भनाई छ । भारत र भुटानका विदेश मन्त्रीबीच होटेल सोल्टीमा दिउँसो १ बजे बैंठक हुँदैछ । चीन र भुटानको सिमा क्षेत्र दोक्लमलाई लिएर भारत र चीनबीच करिब ५० दिनदेखि तनाव जारी छ ।