डा. केसीको स्वास्थ्य अवस्था नाजुक, किडनीमा समस्या

664
views

चिकित्सा क्षेत्र सुधारको मागसहित अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बनेको छ । अनसनको शुुक्रबार १९ औं दिन पुगेको छ । केसीको मुटुको धड्कन अस्वाभाविक रुपले बढेको छ, शरीरका अंग बाउँडिने साथै किड्नीमा समस्या देखिएको छ । अनशन लम्बिएको खण्डमा डा. केसी अपाङ्ग हुन सक्नेतर्फ चिकित्सकहरुले खबरदारी गरिरहेका छन् । यसैगरी डा. केसीको माग अविलम्ब पुरा गर्न भन्दै देशैभरी चिकित्सकहरु आन्दोलित भएका छन् । उनीहरुले शुक्रबारबाटै देशैभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका अन्य सेवा ठप्प बनाएका छन् ।
प्रधानमन्त्रीले बोलाए बैठक
डा. केसीको स्वास्थ्यलाई लिएर चौतर्फी दबाब सिर्जना हुन थालेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले बैठक बोलाएका छन् । देउवाले शुक्रबार डा. केसीका माग सम्बोधन गर्न भन्दै बैठक बोलाएका हुन् । बैठकमा उनले स्वास्थ्यमन्त्री गिरिराजमणी पोख्रेल, पूर्व स्वास्थ्यमन्त्री गगन थापा, महिला बालबालिका तथा समाजकल्याण समितिकी सभापति रञ्जु झा लगायतलाई बोलाएका छन् ।
साथै, बैठकमा शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ, स्वास्थ्य सचिव किरण रेग्मी र तत्कालिन केदारभक्त माथेमा कार्यदलका सदस्यहरुलाई समेत आमन्त्रित गरिएको छ ।
महिला बालबालिका तथा समाजकल्याण समितिको बैठक अनिश्चित
बिहिवार बसेको महिला बालबालिका तथा समाजकल्याण समितिको बैठकमा चिकित्सा शिक्षा विधेयकमाथि छलफल भएको थियो । यद्यपी छलफल कुनै निश्कर्षमा पुग्न सकेको थिएन । समितिकी सभापति रञ्जु झाले समिति अन्तर्गतको चिकित्सा शिक्षा कार्यदलले संशोधनसहित पेस गरेको प्रतिवेदन पास गर्न खोजेकी थिइन् । समितिका अन्य सदस्यहरुले भने अध्ययनका लागि समय आवश्यक पर्ने भन्दै कार्यदलले संशोधनसहित पेस गरेको विधेयक पारित गर्न चाहेनन् । सभापति झाले चाहेअनुसार विधेयक पारित भएको खण्डमा डा. केसीको मागका विरुद्धमा हुने सांसदहरुले बताइरहेका छन् ।