देशैभर बाढी–पहिरोको सकस, कतै डुबान, कतै मृत्यु

725
views

नवदृष्टि संवाददाता
काठमाण्डौ, २८ श्रावण । गएरातीदखि परेको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँको जनजीवन कष्टकर बनेको छ । देशका विभिन्न भागमा ७ जनाको मृत्यु भएको छ ।आज विहानै सिन्धुलीमा करिब साढे दुईबजे गएको पहिरोले एकै परिवारको चार जनाको मृत्यु भएको छ ।
त्यस्तै राप्तीनारी गाउँपालिका ४ लालपुर गाउँका कामीलाल थारुको घर भत्किँदा तीन बालबालिकाको मृत्यु भएको छ । घरभित्र पानी पसेर एक्कासि घर भत्किँदा तीन छोरी मृतावस्थामा भेटिएको र तिनकी आमा बेपत्ता भएको बाँकेका प्रहरी उपरीक्षक टेकबहादुर तामाङले बताउनुभयो । पहिरोले पुरिएर मोरङ लेटाङ नगरपालिका १ की ४० वर्षीया गोपि माया तामाङको मृत्यु भएको छ ।

लगातारको वर्षाले जिल्लाका विभिन्न स्थान डुबानमा परेको छ । गएराति १ बजेदेखि परेको वर्षाले राप्तीसोनारी गाउँपालिकाका बैजापुर, बिनौना र फत्तेपुर गाउँ तथा डुडुवा गाउँपालिकाका होलिया, बेतहानी, वनकटी र कम्दी गाउँ डुबानमा परेका छन् । यस्तै कोहलपुर नगरपालिकाका पनि केही गाउँ डुबानमा परेका छन् । अहिले राप्ती नदीको सतह बढ्दै गएपछि गाउँमा बाढी पस्ने जोखिम बढेको छ । घरभित्र पानी पसेपछि मानिसहरु घरको छत तथा अग्लो स्थानमा बसेर हारगुहार गरिरहेका छन् ।

स्थानीय प्रशासनले बाढी प्रभावित क्षेत्रमा गए रातिदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरेको निमित्त प्रजिअ कृष्ण खड्काले बताउनुभयो । उहाँका अनुसार जिल्लाका बाढी प्रभावितलाई उद्धारका लागि हेलिकप्टरको प्रयोग गरिएको छ । सुर्खेतमा रहेको हेलिकप्टर अहिले नेपालगञ्ज ल्याएर बाँकेको बैजापुरका नागरिकलाई उद्धार गर्न लागिएको छ । बाढीले बैजापुर, फत्तेपुर र होलियामा सबैभन्दा बढी प्रभावित बनाएको छ । त्यहाँका नागरिकलाई सुरक्षित स्थानतर्फ लग्ने प्रयास भइरहेको छ ।

यसैबीच पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको खासकुश्मामा मुख्य राजमार्गमा तीन रुख ढलेका छन् । अहिले ती रुख हटाउने काम भइरहेको बाँकेका प्रहरी प्रमुख टेकबहादुर तामाङले बताउनुभयो । राप्ती नदीको तह बढेर अहिले ८.५८ मि पुगेर उच्च जोखिममा छ । राप्ती नदीको सतह पाँच मि सामान्य मानिन्छ । यस्तै अविरल वर्षापछि सुन्दरहरैँचा नगरपालिका–४ स्थित बूढी खोलामा आएको बाढीले पुल कटान गर्न थालेपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । 

बाढीले पुल नै जोखिममा परेपछि राजमार्ग भएर आवतजावत नै बन्द गरिएको सुन्दरहरैँचा नगरपालिका प्रमुख शिवप्रसाद ढकालले जानकारी दिनुभयो । बेलबारी नगरपालिका–५ स्थित भित्री सडकखण्डमा लोहन्द्रा खोलामा रहेको पक्की पुल बाढीले बगाएको इलाका प्रहरी कार्यालय हरैँचाले जनाएको छ ।

यस्तै बूढीगंगा गाउँपालिका–२ बौराहा टोलमा बूढीखोलाको बाढी पसेर एक सय ५० घर, मुडेरी टोलका एक सय ५० घर र दिपुटोलका ५० घर डुबानमा परेका छन् । इलाका प्रहरी कार्यालय निमुवाबाट प्रहरीको टोली खटिएर पीडितको उद्धार गरिरहेको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी उर्लाबारी नगरपालिका–८ स्थित माझीटोलमा बक्राहा खोलाको पानी गाउँ पसेर १५ घर र मिक्लाजुङ गाउँपालिकामा–६ खाबेझोडामा १८ घर डुबानमा परेका छन् । त्यस्तै रतुवामाई नगरपलिका–५ गोविन्दपुरमा रहेको प्रहरी चौकी गोविन्दपुर पूर्णरुपमा डुबानमा परेपछि त्यहाँ कार्यरत प्रहरी छतमा बस्नुपरेको छ । रतुवामाई नगरपलिका–५, ७, ८ र ९ मा रतुवा खोला र बक्राहा खोलाको बाँध फुटेर बस्तीमा पसेको प्रहरीले जनाएको छ । सो स्थानका विस्थापित अन्दाजी सात सय घरपरिवारलाई सुरक्षित स्थानतर्फ सार्ने कार्य भइरहेको प्रहरी चौकी इटहराले जनाएको छ । यस्तै धनपालथान गाउँपालिका–६ स्थित लोहन्द्रा खोलाको बाँध फुटेर एक सय ५० घर डुबानमा परेका छन् ।

गएरताीको अविरल बर्षाका कारण जिल्लाको माडी नगरपालिकास्थित रिउ खोलामा आएको बाढीले स्थानीय २०० घर डुबानमा परेका छन् । बाढीकै कारण इलाका प्रहरी कार्यालय, इलाका प्रशासन कार्यालय, बघौडा अस्पताल लगायत सरकारी कार्यालय समेत डुबानमा परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार मध्यरातमा रिउ खोलाको बहाव ५ दशमलव १० बिन्दुमा पुगेपछि स्थानीयवासीलाई सुरक्षित ठाउँमा जान भनिएको बताउनुभयो ।
माडी नगरपालिका वडा नं १, २, ४ र ६ का पूरै तथा वडा नं ३ र ४ का केही भाग डुबानमा परेका छन् । बाढीले कुन्तीपुरमा दुई कच्ची घर ढलाएको तथा घरका खाद्यान्न, लत्ता कपडा लगायत सामग्रीमा क्षति पु¥याएको छ । वडा नं १ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलका अनुसार माडी–ठोरी हुलाकी सडकको चितई खोलाको पुल बाढीले ढल्काए पछि सो सडक अवरुद्ध भएको छ । त्यसैगरी बरुवा बजारबाट लक्ष्मुनिया क्षेत्र जाने डाङ्ग्रे खोलाको पुल पनि बाढीले क्षति पु¥याएपछि सो सडक पनि अवरुद्ध बनेको उहाँले बताउनुभयो ।
ती ठाउँमा मानवीय र पशु चौपायाको कुनै क्षति नभएको प्रहरीले जनाएको छ । विस्तृत विवरण संकलन भइरहेको छ । डुबानस्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रसकर्मी, स्थानीयवासीसहित निकुञ्जका सात हात्ती उद्धारमा परिचालन गरिएको छ । जिल्लाबाट प्रजिअ नारायणप्रसाद भट्ट, सुरक्षा निकायका प्रमुखसहितको टोली बिहान डुबानस्थलतर्फ प्रस्थान गरेको छ ।

यस्तै बर्षाले हेटौँडा–कुलेखानी सडकखण्ड अन्तर्गत पर्ने सिस्नेरीको रामचन्द्र भञ्ज्याङ र मदन भण्डारी राजमार्गअन्तर्गत फाखेल सडकखण्डको सुकौरामा पहिरो गई हेटौँडा–काठमाडौँ यातायात सेवा अवरुद्ध भएको छ । कुलेखानी–काठमाडौँ र फाखेल–काठमाडौँ सडकखण्ड अवरुद्ध भएकाले बिहानदेखि भैँसेस्थित त्रिभुवन राजपथबाट काठमाडौँतर्फको यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यसैगरी हेटौँडाबाट गएका यातायातका साधन चिसापानीगढीबाट फर्काई भीमफेदी हुँदै भैँसेतर्फ लगिएको नारायणी यातायात व्यवसायी संघका अध्यक्ष बद्रीप्रसाद चौलागाईंले जानकारी दिनुभयो ।

याे पनि हेर्नुहाेस्

https://navadristi.com/2017/08/12/पहिरोले-घर-पुर्दा-एकै-परि/