भेनेजुएला संकटको “सैन्य“ समाधान

1955
views

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको संकट समाधान गर्न सैन्य उपाय एक रहेको बताएका छन् । न्यू योर्कमा एकजना संवाददाताको प्रश्नको जवाफ दिँदै ट्रम्पले भने, “अमेरिकाको सेना संसारभर छ, भेनेजुएला त्यति टाढा छैन ।“
उनले भने, “भेनेजुएलामा मानिसहरु दुख पाइरहेका छन् र मारिइरहेका छन् । अमेरिकासँग समाधानका धेरै उपाय छन् त्यसमध्ये एक सैन्य उपाय पनि हो ।“
भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले गराएको नयाँ संविधान सभा निर्वाचनको विभिन्न क्षेत्रबाट आलोचना भएको छ । भेनेजुएलाका रक्षा मन्त्री भ्लादिमिर प्याड्रिनोले राष्ट्रपति ट्रम्पको भनाइलाई “पागलपनको उपज“ भने । राष्ट्रपति निकोलस मडुरोले बनाएको नयाँ संविधान सभालाई गैर प्रजातान्त्रिक भन्दै व्यापक आलोचना हुने गरेको छ । अमेरिकाले हालै राष्ट्रपति मडुरोलाई अधिनायकवादी भन्दै विभिन्न प्रतिबन्ध लगाएको थियो । ह्वाइट हाउसले पछि अमेरिकी राष्ट्रपतिसँग मडुरोले फोनवार्ता गर्न चाहेको बताएको थियो ।
त्यसमा ट्रम्पको जवाफबारे ह्वाइट हाउसले भनेको छ, ट्रम्पले भेनेजुएलामा प्रजातन्त्र स्थापना भएपछि मात्रै आफ्ना भेनेजुयाली समकक्षीसँग खुशीसाथ कुराकानी गर्ने बताएका छन् । यसैबीच भेनेजुएलाका रक्षा मन्त्री भ्लादिमिर प्याड्रिनोले यो महिनाको शुरुमा सैन्य अखडामा भएको आक्रमणका नाइके गिरफ्तार भएको बताएका छन् ।
जनरल प्याड्रिनोले गिरफ्तार गरिएका व्यक्ति पूर्व नेशनल गार्ड क्याप्टेन उआन कागुवारिप्यानो र लेफ्टिनेन्ट जेफरसन गार्सिया रहेको बताए । रक्षामन्त्रीले उनीहरुलाई कडा सजाय दिने बताए ।
सैन्य कार्यालयमा आक्रमण भएका दिन कागुवारिप्यानोले भिडिओ मार्फत राष्ट्रपति निकोलास मडुरो विरुद्ध आन्दोलन गर्न आग्रह गरेका थिए । विविसी