चीनका उपप्रधानमन्त्री वाङ सोमबार नेपाल आउने

543
views

बेइजिङ, २९ साउन चीनका उपप्रधानमन्त्री  पाकिस्तान हुँदै सोमबार काठमाडौँ उत्रिने भएका छन्। दक्षिण एसियामा चीनको सबैभन्दा नजिकको मित्र पाकिस्तानको ७०औँ स्वतन्त्रता दिवसमा सहभागी भएर वाङ नेपाल आउन लागेका हुन्।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले शनिबार बेइजिङमा उपप्रधानमन्त्री वाङ चार दिने पाकिस्तान र नेपाल भ्रमणका लागि आइतबार इश्लामावाद प्रस्थान गर्ने जनाएका छन्।
सहभागी भएर उपप्रधानमन्त्री वाङ त्यही दिन काठमाडौं आउने कार्यक्रम रहेको छ। हालैमात्र नयाँ प्रधानमन्त्री चयन भएपछि वाङ पाकिस्तान पुग्ने पहिलो शीर्ष चिनियाँ नेता हुनेछन्।
‘सोमबारबाट चिनियाँ उपप्रधानमन्त्री वाङ याङको नेपाल भ्रमण हुँदैछ, र यो भ्रमण चीन सरकारबाट हुन लागेको उच्च भ्रमण हो’, उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले शनिबार काठमाडौंमा नेपालखबरसँग भने, ‘चिनियाँ उपप्रधानमन्त्री वाङसँग भूकम्पपछिको पुनर्निर्माणमा चीनले
गर्दै आएको सहयोग, बेल्ट एण्ड रोड इनिसिएटिभ लगायतका विषयमा छलफल हुनेछ।’
चीन सरकारमा चार जना उपप्रधानमन्त्रीमध्ये अर्थ मामिला हेर्ने वाङ नेपालका उपप्रधान तथा परराष्ट्रमन्त्री महराको निमन्त्रणामा नेपाल आउन लागेका हुन्। वाङको उच्चस्तरीय प्रतिनिधि मण्डलमा चीनको परराष्ट्र, अर्थ र वाणिज्य मन्त्रालयका अधिकारीहरू रहने बताइएको छ।
चीनका तत्कालिन प्रधानमन्त्री वेन जियाबाओले पाँच वर्षअघि पाँच घण्टाका लागि नेपाल भ्रमण गरेयता काठमाडौँ आउने वाङ पहिलो शीर्ष नेता हुन्। सन् २०१३ मा चीनमा नयाँ नेतृत्व आएलगत्तै चीनको मन्त्री परिषद्मा विदेश मामिला हेर्ने स्टेट काउन्सिलर याङ जेइचीले नेपाल भ्रमण गरेका थिए भने भूकम्पपछि काठमाडौँंमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा परराष्ट्र मन्त्री वाङ यी सहभागी भएका थिए।
तत्कालिन प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको क्रममा दुई देशबीच ब्यापार तथा पारबहन सम्झौता भएपछि राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमण गर्ने तयारी थियो। राष्ट्रपति सीको भ्रमण हुन नसके पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पालामा चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य तथा प्रकाशन विभागका प्रमुख लिउ छिपाओले गत पुसमा नेपाल भ्रमण गरेका थिए।
पूर्व प्रधानमन्त्री दाहालले गत चैतमा बोआओ एसिया फोरममा सहभागी हुने क्रममा चीन भ्रमण गरे, जतिबेला बेइजिङमा राष्ट्रपति सी र उपप्रधानमन्त्री वाङ याङसँग उनले भेटवार्ता गरेका थिए। राष्ट्रपति सीसँग शिष्टाचार भेटवार्ता गरेका प्रधानमन्त्री दाहालले चीनका प्रधानमन्त्री
लीखछ्याङको अनुपस्थितिमा उपप्रधानमन्त्री वाङसँग नै लामो वार्ता गरेका थिए। त्यसैबेला दाहालले वाङलाई नेपाल भ्रमण गर्न निमन्त्रणा दिएका थिए।
तत्कालीन उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले ‘बेल्ट एण्ड रोड’ फोरममा सहभागी हुने क्रममा वैशाखमा उपप्रधानमन्त्री वाङसँग बेइजिङमा भेटवार्ता गरी नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए।
त्यसैले बेइजिङले रणनीतिक रुपले महत्वपूर्ण समय छनोट गरेर उपप्रधानमन्त्रीको भ्रमण आयोजना गरेको हो। राष्ट्रपतिको भ्रमण हुन नसके पनि कोही न कोही शीर्ष नेता नेपाल आउने बेइजिङले बताउँदै आएको थियो। अक्टोबरमा हुने चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशनबाट वाङ याङ सात सदस्यीय स्थाई समितिमा आउने अनुमान गरिएको छ, जुन चीनको सत्ता सञ्चालनको सर्वोच्च निकाय हो।
बिहिबार बेइजिङ फर्कनुअघि वाङले काठमाडौँमा भूकम्पले ध्वस्त बनाएको काष्ठमण्डप पुनर्निर्माणको सिलान्यास गर्ने र नेपाल–चीनबीच केही सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ।
काठमाडौँमा वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग दुई पक्षीय भेटवार्ता गर्नेछन्।