सीमा सम्बन्धी अन्तराष्ट्रिय कानुनको उलंघन गरेको भन्दै भारतप्रति वैद्यको आक्रोष

617
views

नवदृष्टि संवाददाता
काठमाण्डौ । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले एक वक्तव्य जारी गर्दै बाढी, पहिरो र डुवानको समस्यामा परेका नागरिकको उद्दारमा जुट्न हार्दिक अपिल गरेका छन् । शनिबार एक वक्तव्य जारी गर्दै अध्यक्ष वैद्यले यस्तो अपील गरेका हुन् । उनले वक्तव्य मा भनेका छन्, “केही दिनदेखि परिरहेको अविरल बर्षाका कारण बाढी, पहिरो र डुवानमा परी मुलुकका विभिन्न भागमा ठूलो धनजन को क्षति हुन पुगेको छ । गृह मन्त्रालयका अनुसार विभिन्न जिल्लामा बाढी, पहिरो र डुवानमा परी ३० जनाभन्दा बढीको ज्यान गएको छ भने कयौं वेपत्ता छन् । प्राकृतिक प्रकोपको यस दुःखद् घडीमा हाम्रो पार्टी मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ र शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ । साथै, घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ । यस विपदको घडीमा हाम्रो पार्टी पंक्तिलाई पीडितहरुको उद्दारको कार्यमा लाग्न हार्दिक अपील गर्दछ ।”
वक्तव्यमा घाइतेको उपचार, राहत तथा पुनस्र्थापनाको तत्काल यथोचित व्यवस्था गर्न सरकारसँग जोडदार माग समेत गरेको छ ।
वक्तव्यमा तराईका अधिकांश जिल्लामा नेपाल भारतको सीमामा भारतले एकतर्फी बाँधेका बाँध र निर्माण गरेको पक्की सडकका कारण डुवानको समस्या विकराल बनेको भन्दै अध्यक्ष वैद्यले डुवानकै कारण हजारौं परिवार विस्थापित हुन पुगेको उल्लेख गरेका छन् र भनेका छन्, “सीमा सम्बन्धी अन्तर्रा्ष्ट्रिय कानुनको उलंघन गर्दै नेपालको सहमति समेत नलिई भारतले एकतर्फी रुपमा बनाइएका बाँध र सडकका कारण उत्पन्न समस्याको समाधानका लागि भारत सरकारसँग तत्काल आवश्यक पहल गर्न सरकारसँग हाम्रो पार्टी जोडदार माग गर्दछ ।”