वर्षाको कारण गभ्भीर क्षति, रेडक्रसकर्मीहरु उद्वारमा खट्दै

789
views

नवदृष्टि संवाददाता
श्रावण, २९, गते । गएको दुइहप्तामा वाढी र पहिरोको कारण मुलुकका विभिन्न स्थानमा ६४ जनाको ज्यान गएको छ । त्यस्तै, ४४ जना घाइते भएका र १६ जना हराइरहेका छन् ।वाढी तथा पहिरोले १९ हजार ८ सय १९ परिवार प्रभावित भएका र झण्डै दुइहजार परिवार विस्थापित हुन पुगेका छन् । विपद्को कारण २९ जिल्लामा २ हजार १ सय त्रिपन्न घरहरु आँशिक क्षती भएका छन् भने ७ सय अठ्ठाइस घर पूर्ण क्षति भएका छन् । यो दुइहप्तामा ४ सय ४५ रेडक्रसका स्वयँसेवकहरु सेवार्थ खटाइएको छ ।
गएको दुई दिनको अविरल वर्षा
गत दुइ दिनको अविरल वर्षाको कारणमात्र कम्तिमा ३० जनाले ज्यान गुमाएको प्रारभ्भिक अनुमान छ । ४ हजार घर डुवानमा परेका छन् । रेडक्रसका झापा, मोरङ, सुनसरी, सिरहा, सर्लाही, बारा, ललितपुर, सिन्धुली, पाँचथर, सप्तरी, बाँके, दाङ र बर्दिया लगायतका शाखाहरुबाट तत्काल सहयोग सुरु गरिएको र १५० वढी उद्यारकर्मी, प्राथमिक उपचारक तथा रेस्पोन्स स्वयँसेवकहरु खटिएका छन् । ती स्वयँसेवकहरुले मानिसहरुलाई स्थानान्तरण, प्राथमिक उपचार र सामग्री ओसार पसारमा सहयोग गरेका छन् ।
नेपाल रेडक्रसको केन्द्रीय कार्यालयमा आपत्कालीन अपरेसन केन्द्रलाई सक्रिय बनाइएको छ । जिल्ला जिल्लामा पनि स्थानीय विपद् व्यवस्थापन समितिको निकटमा रही आपत्कालीन टोली सक्रिय बनाइएको छ ।
झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, बाँके, बर्दिया, दाङ,सर्लाही, बारा, पाल्पा, सिन्धुली जिल्लाहरु वढी प्रभावित भएका नेरेसो विपद् व्यवस्थापन विभागले तयार गरेको प्रारम्भिक प्रतिवेदनमा जनाइएको छ । अविरल वर्षाको कारण प्रभावितहरु समक्ष पुग्नै समस्या भएको छ । कतिपय स्थानमा जाने बाटो लगायत विद्युत आपूर्ति र सञ्चार सम्पर्क विच्छेद भएको छ ।
आज केही स्थानमा त्रिपाल तथा तयारी खानेकुराको सहयोग पनि उपलव्ध गराइएको छ । जिल्लाहरुमा नपुग ९ सय ३१ परिवारलाई पुग्ने गैर खाद्य सामग्री तथा ८ सय अतिरिक्त त्रिपालहरु केन्द्रीय गोदामघरहरुबाट जिल्लाहरुमा पठाइसकिएको छ । आजै क्षेत्रीय गोदामघरबाट ३०० थान त्रिपाल सर्लाही र बारामा वितरणको लागि पठाइएको छ ।
भारदेऊ ललितपुरमा आज राहत सामग्री वितरण गरिएको ललितपुर शाखाका सभापति बेखामान व्यन्जनकारले जानकारी दिनुभयो ।
सिरहाबाट अशोक यादवले दिनुभएको जानकारी अनुसार कम्तिमा ५० बस्ती डुवानमा परेका छन् । सिरहाको लाहन, औराही, निर्दना, इटारी पर्साही कल्याणपुर क्षेत्र वढी प्रभावित भएको र कम्तिमा २०५ परिवार विस्थापित भएका छन् । यसबाट ९०० जना प्रत्यक्ष प्रभावित बनेका छन् ।
अबस्थाको बारेमा बर्दियाबाटे पठाउनुभएको जानकारी अनुसार बर्दियाको ठाकुरद्धारा, बाँसगढी र वारबर्दिया नगरपालिका तथा बडैयाताल गाँउपालिका वढी प्रभावित भएको सुचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो । त्यहाँ ३ जना घाइते, एकजना हराइरहेको र १०३० जना विस्थापित भएको अवस्था छ । १६ घरधुरी पूर्ण क्षती भएका छन् । उता बाँकेमा शाखा प्रमुख निरन्जना मल्लले जानकारी दिनुभएको छ ।
अहिलेको अवस्थालाई दृष्टिगत गर्दै वीवीसी नेपाली सेवासँगको कुराकानीमा नेपाल रेडक्रसका अध्यक्ष सञ्जीव थापाले भन्नुभयो ‘आपत्कालीन अवस्थामा जीवन रक्षा नै महत्वपूर्ण हुन्छ । पहिले आफू सुरक्षित भई निस्कने, त्यसपछि सुरक्षित स्थानमा जाने, मोवाइल वा अरु कुनै तरीकाले छिमेकी, रेडक्रस वा सरकारी निकायमा सम्पर्क गरेमा वाढी वा पहिरोको अवस्थामा ज्यान जोगाउन सहज हुनसक्छ । यस्तो बेला पिउने पानी र स्वास्थ्यको पनि निकै ख्याल गर्नुपर्दछ ।