ट्रम्पलाई तालिबानको चिठी

2172
views

भदौ १, काबुल अफगानिस्तानमा सशस्त्र युद्ध गर्दै आएको तालिबान विद्रोहीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खुला पत्र लेखेर अफगानिस्तानमा कार्यरत सैनिकलाई फिर्ता बोलाउन माग गरेको छ । पत्रमा अफगानिस्तानमा १६ वर्षदेखि चबलरहेको युद्ध बन्द गर्न अमेरिकी सैनिक तत्काल फिर्ता हुनुपर्ने जिकिर गरिएको छ।
तालिबानका प्रवक्ता जबिहुल्ला मुजाहिदले उक्त पत्र सञ्चारकर्मीहरूलाई पनि उपलब्ध गराएका थिए । ट्रम्पले अफगानिस्तानमा अमेरिकी रणनीति सुधार गर्ने भनी दिएको वचनप्रति स्मरण गराउँदै उनले यस्तो माग गरेका हुन् । ट्रम्पले अफगानिस्तानमा अमेरिकी नीतिको समीक्षा गर्नुपर्ने बताएका थिए । आफ्ना पूर्ववर्तीहरूले गलत नीति अपनाएका कारण विभिन्न ठाउँमा अमेरिकालाई बेफाइदा पुगेको उनको दाबी थियो ।
मुजाहिदले भने, ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगान नीतिमा अमेरिकी सेनालाई हावी हुन दिनु हुँदैन ।’ उनले अमेरिकाले अफगानिस्तानबाट आफ्ना सैनिक बोलाउनु जरुरी भएकोमा जोड दिए । अमेरिकी प्रशासनको योजनाबमोजिम अफगानिस्तानमा थप सैनिक पठाउने कुरा विचार गर्नु आवश्यक नभएको उनको तर्क थियो ।
१ हजार ६ सय शब्दमा लेखिएको पत्रमा अमेरिकी सैनिकलाई फिर्ता बोलाउनु एक प्रकारले अमेरिका आफूलाई नोक्सान हुने कुराबाट बच्नु भएको चर्चा गरिएको छ । यसबाट कसैको पनि रुचिकर नभएको युद्धको अन्त्य हुने उनको दाबी छ । अफगानिस्तानमा हाल अमेरिकाका ८ हजार ४ सय सैनिक तैनाथ छन् । हालै अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आतंकवादसँग लड्न भन्दै ४ हजार सैनिक अफगानिस्तान पठाउने माग गरेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले थप सैनिक पठाउन नहुने बताउँदै आएका छन् । पेन्टागनले क्षेत्रीय स्थिरता र सीमा सुरक्षाका लागि काबुलमा अमेरिकी सैनिक पठाउनुपर्नेमा जोड दिँदै आएको छ । अफगानिस्तान सरकारले आफ्नै क्षमतामा तालिबान र इस्लामिक स्टेटमाथि विजयी पाउन नसकेको भन्दै अमेरिकी सेना थप्नुपर्ने माग उठेको थियो ।