प्रधानमन्त्री देउवालाई भारतमा ‘गार्ड अफ अनर’ प्रदान

670
views

नयाँदिल्ली, ८, भारत । भारतको राजकीय औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय राष्ट्रपति भवनमा आज ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । विशेष समारोहमा सरिक हुने क्रममा प्रधानमन्त्री देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गर्नुभएको थियो ।
सो अवसरमा सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री देउवाले नेपाल–भारत सम्बन्ध ऐतिहासिक र विशेष किसिमको रहेको बताउनुभयो । देउवाले खुला सिमाना र अरू विशिष्ट सम्बन्धका कारण नेपाल–भारत सम्बन्ध महत्वपूर्ण रहिआएको समेत प्रष्ट पार्नुभयो ।
देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको औपचारिक राजकीय भ्रमणमा यहाँ आउनुभएको हो ।
उक्त समारोहमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मा, पर्यटन नागरिक उड्डयन तथा संस्कृति मन्त्री जितेन्द्र देव समेतका नेपाली प्रतिनिधिमण्डलका उच्चपदस्थ व्यक्तिहरुको उपस्थिति थियो ।
प्रधानमन्त्री देउवाले आजै बिहान राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर पुष्पहार अर्पण गरी अहिंसाका पुजारी गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।