बाढी पहिरो पीडितलाई रेडक्रसले पठायो आठ करोड चालीसलाखको गैरखाद्य सामाग्री

1271
views

नवदृष्टि संवाददाता
काठमाण्डौ । नेपाल रेडक्रस सोसाइटीले वाढी प्रभावित क्षेत्रमा सहयोग तीब्र पारिरहेको छ । अहिलेसम्म ३ हजार ७ सय ६६ परिवारलाई गैरखाद्य सामग्रीको पूर्ण सेट, ५ हजार ७ सय ५३ त्रिपाल, ४१ हजार आठसय जनालाई खाद्यान्न वितरण गरेको छ । त्यस्तै, २ हजार ५ सय जनालाई झुल, एक हजार आठ सय जनालाई ओछ्याउने सामग्री वितरण भएको छ । स्वास्थ्य र सरसफाइको लागि १८ हजार छ सय जीवनजल प्याकेट, पानी सुद्धिकरण ट्यावलेट९३ हजार र ४ हजार ५ सय साबुन वितरण भएको सञ्चार विभाग प्रमुख दिव्य राज पौडेलले जानकारी दिनुभयो ।

अन्तरािष्ट्रय अपील जारी
गतहप्ताको वाढी तथा पहिरोको कारणले नेपालका करिव पन्ध्रलाख जनसँख्या प्रभावित भएको प्रारभ्भिक द्रुत सर्वेक्षणले देखाएको छ । ती मध्ये अति प्रभावित ८१ हजार मानिसहरुलाई तत्कालीन र अल्पकालीन सहयोगको लागि रेडक्रसले सहयोग गर्ने गरी योजना बनाइएको छ र स्रोतको लागि अन्तराष्ट्रिय अपील बुधबार जारी भएको छ । नेरेसोका अध्यक्ष सञ्जीव थापाले तत्कालीन तयारी खाना र अस्थायी आवास, स्वास्थ्य, खानेपानी र सरसफाई, घर पुननिर्माण सहयोग जस्ता गतिविधिहरुमा हाम्रो सहयोग केन्द्रित रहने बताउनुभयो । शिर्ष नेतृत्व नै जिल्लामा खटिदै बाढीबाट प्रभावित व्यक्ति घरपरिवारहरुलाई तत्काल सहयोग पुर्याउन रेडक्रसका जिल्ला शाखाहरुबाट भैआएको कार्यलाई थप अघि बढाउन सहयोग र उत्प्रेरणाको लागि नेरेसोका अध्यक्ष संजिव थापाको नेतृत्वमा उच्च स्तरीय टोली तराइमधेसका विभिन्न जिल्लाहरुमा योजना, राहत सामग्री हस्तान्तरण, सहयोग र हालसम्मको प्रगति समीक्षा कार्यक्रममा व्यस्त रहेको छ । उक्त टोलीले मध्य तराइका सवै जिल्ला रेडक्रस प्रतिनिधिहरु र स्थानीय प्रशासनका प्रतिनिधिहरु सहभागि रहेको आपत्कालिन सहयोग तयारी र समीक्षा वैठक पर्साको बीरगञ्जमा सम्पन्न गरेको छ ।
हिजै रौतहटमा सो टोलीले पिप्रा भगवानपुरका २७० परिवारलाई त्रिपाल, कम्बल, भाडाकुडा, सामग्री वितरण सम्पन्न गरेको छ । टोलीले मध्य र पूर्वी तराइका अन्य जिल्लाहरुमा पनि विभिन्न कार्यक्रमहरुमा सहभागिता गर्ने कार्यक्रम रहेको छ । टोलीमा नेरेसोका कार्यबाहक महामन्त्री हरिप्रसाद न्यौपाने, कोषाध्यक्ष देवेन्द्रबहादुर प्रधान, केन्द्रीय विपद् व्यवस्थापनका समितिका सभापति मनोज थापा, कामु कार्यकारी निर्देशक ईन्द्र केसी, विपद व्यवस्थापन विभागका कामु निर्देशक धर्मराज पाण्डेलगायत रहनुभएको नेरेसोका सञ्चार विभाग प्रमुख पौडेलले जानकारी दिनुभयो ।
आठ करोड चालीसलाखको गैरखाद्य सामग्री पठाइयो
अति प्रभावित क्षेत्रका मानिसहरुलाई नेपाल रेडक्रसले आपत्कालीन आवास, गैर खाद्य सामग्री, खाद्य सामग्री वितरण गरिरहेको छ । अहिलेसम्म केन्द्रीय र क्षेत्रीय गोदामबाट विभिन्न प्रभावित जिल्लाको लागि १२ हजार सेट सामग्री पठाइसकिएको र ती सामग्रीको मूल्य आठ करोड चालीसलाख रहेको विपद् व्यवस्थापन विभागका निर्देशक धर्मराज पाण्डेले जानकारी गराउनुभयो । रेडक्रसले वितरण गर्ने यी सामग्री सेटमा त्रिपाल, कम्मल, सारी, पुरुषले लगाउने धोती, सिलाउने कपडाहरु, भान्साका सामग्रीहरु, बाल्टी, डोरी लगायतका सामग्री रहेका छन् ।