प्रधानमन्त्री देउवाको बोलीले दिल्ली तरङ्गित

700
views

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहिबार साँझ इन्डिया फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा नेपाल–चीन सम्बन्धमा बोलेको विषयले दिल्लीमा तरंग ल्याएको छ । दिल्लीमा बिहिबार साँझ इन्डिया फाउन्डेसनले इम्पेरिकल होटलमा आयोजना गरेको प्रधानमन्त्री देउवाका लागि नागरिक सम्मान समारोहमा देउवाले चीनसँग नेपालको कुनै समस्या नरहेको र चीनले नेपालको सार्वभौमसत्ताको सधैं सम्मान गरेको बताएका थिए ।सम्मान कार्यक्रममा भारतीय खाद्यमन्त्री रामविलास पासवानले उत्तरी छिमेकी चीनबाट नेपालललाई समस्या आउनसक्ने भन्दै त्यस्तो अवस्थामा ‘नेपाललाई कुनै पनि समय, कुनै पनि खालको सहयोग गर्न भारत तयार रहेको’ बताएका थिए। पासवानले ‘चीनले तिब्बत कब्जामा लिएको र नेपाललाई पनि समस्यामा पार्नसक्ने भएकाले त्यस्तो अवस्थामा भारतले सहयोग गर्ने’ बताएका थिए।
नेपालको सीमाबाट १२ किलोमिटर नजिकै विहारको हाजीपुरका बासिन्दा पासवानले चीनको प्रसंग जबरजस्ती तानेपछि देउवाले उनलाई जवाफ दिए। ‘चीनसँग नेपालको राम्रो सम्बन्ध छ, हामीले चीनबाट समस्याको सामाना गर्नु परेको छैन’, प्रम देउवाले भनेका थिए, ‘भारतले यसमा कुनै आशंका गर्नु पर्दैन, तथापी नेपालले कुनै पनि परिस्थितिमा आफ्नो भूमी भारतको विरुद्ध प्रयोग हुन दिनेछैन।’
परराष्ट्र मन्त्रालय सम्वद्ध उच्च स्रोतका अनुसार बिहिबार औपचारिक भेटवार्ता सकिएपछि देउवाले दिएको अभिव्यक्तिले दिल्लीका अधिकारी असन्तुष्ट देखिए र उनीहरूले उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग यसबारे चासो राख्दै सोध्न थाले। आफुलाई धेरै फोन आउन थालेपछि केही तनावमा देखिएका महराले प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार दिनेश भट्टराई लगायतसँग छलफल समेत गरे।
‘प्रम देउवाको चीनसँग जोडिएको भनाइपछि दिल्लीका अधिकारीहरुले केही असहज महशुस गरेका छन्, यसबारे छलफल हुँदैछ’, परराष्ट्र मन्त्रालय सम्वद्ध उच्च स्रोतले भन्यो।
प्रम देउवाको मन्तव्य सकिनासाथ सो कार्यक्रममा सहभागी भारतीय सेनाका अवकाश प्राप्त मेजर जनरल तथा नेपाल मामिला जानकार असोक मेहताले परराष्ट्रमन्त्री महरासँग ‘देउवाको मन्तव्य तपाईंले गाइड गरेको हो ?’ भन्दै सोधेका थिए ।
परराष्ट्रमन्त्री महरालाई अन्य भारतीय अधिकारीहरुले पनि प्रम देउवाको मन्तव्यबारे जिज्ञासा राख्ने क्रम शुक्रबार बिहानसम्म पनि रोकिएको छैन। ‘देउवाको मन्तव्यले नेपाली र चिनियाँ पक्षलाई सन्तुष्ट बनाउला तर दिल्लीमा भने यसले तरंग ल्याएको छ’, परराष्ट्र स्रोत भन्छ, ‘मन्त्री पासवानले चीनको प्रसंग नतानेको भए यो विषय नै उठ्ने थिएन, तर प्रमले सोझै कुरा राखिदिएपछि दिल्लीमा निकै चासो बढेको छ।’
संयुक्त विज्ञप्तिको रस्साकस्सी
प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहिबार संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गरेलगत्तै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी गर्ने तयारी थियो। तर संयुक्त विज्ञप्तिमा के के बुँदा राख्ने भन्ने रस्साकस्सीले गर्दा झण्डै मध्यराती मात्र विज्ञप्ति जारी हुन सक्यो।
भारतीय परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बेलाबेलामा सुरक्षा सम्बन्धी शब्दहरू घुसाउन खोज्दे विज्ञप्ति ढिलो भएको नेपाली अधिकारीहरूले जनाएका छन्। तर नेपालको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले अन्तिमसम्म आफ्नो अडान कायम राखेकोले संयुक्त विज्ञप्तिमा विवादित शब्दहरु नपरेको बताइएको छ।
४६ बुँदे संयुक्त विज्ञप्तिको ११ र १२ बुँदामा नेपाल–भारत सुरक्षा सहकार्यलाई अझ बलियो बनाउने भनिएको छ। ११ नम्बर बुँदामा भारतीय सेना र नेपाली सेनाबीच अझ बढी सैनिक सहकार्य गर्ने, नेपाली सुरक्षा बललाई भारतले तालिम तथा आवश्यक समान उपलब्ध गराउने कुरा उल्लेख गरिएको छ।
१२ नम्बर बुँदामा उल्लेख गरिएका सिमा सुरक्षा र सहकार्यको कुरा भने अघिल्लो सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दिल्ली भ्रमणमा पनि उठाइएको थियो।
चीन र भुटानको सीमा दोक्लाममा भारत र चीनबीच विवाद बढेपछि यस पटक दिल्लीमा सुरक्षा विषयले प्राथमिकता पाउने अनुमान गरिएको थियो। औपचारिक रुपमा दोक्लमको विषय कतै नउठाइएको भएपनि संयुक्त विज्ञप्ति निकाल्न भएको रस्साकसीले भारतीय पक्ष कुनै न कुनै हिसावले यो विषय समेट्न चाहन्थ्यो भन्ने बुझियने परराष्ट्र मन्त्रालय सम्वद्ध एक अधिकारीले बताए । नेपाल खबरबाट