बाढीपीडितलाई गासबासकै समस्या, रातभर जाग्राम

666
views

नवदृष्टि संवाददाता
मोरङ, १४, भदौ । मोरङमा बाढीपीडितलाई गासबासकै समस्या भएको छ । बाढीपडितहरुले भोकभोकै पालमुनि जाग्राम बसेर रात काट्नु परेको गुनासो गरेका छन् । आएको राहत कता गयो उनिहरु मध्ये कसैलाई अत्तोपत्तो छैन । सरकारी संयन्त्र सबैको घरघरमा राहत पु¥यायौँ भनिरहेको बेला मोरङका बाढीपीडितबाट यस्तो गुनसो आएको हो । सरकारले बाढीपीडितका लागि खानपिनको व्यवस्था गर्न प्रतिव्यक्ति दैनिक रु ७० प्रदान गरेको भएपनि मोरङ बाढीपीडितलाई भने कुनै जानकारी नै छैन् ।
विराटनगरमा पनि उस्तै
विराटनगर–७ का बाढीपीडित अहिले पनि त्यस्तो सरकारी सेवाबाट वञ्चित छन् । सामान्य त्रिपालको भरमा बसेका र वर्षात् भएकोले रात बिताउन जाग्राम नै बस्नुपर्ने बाध्यता रहेको उनीहरुले बताएका छन् । विराटनगर–७ का दिनेश सहनीको घर साउन २७ गते आएको बाढीले बगायो । दाताले चलाउने दैनिक मेसबाट गुजारा चलेको भएपनि दाता गुजारा दिन छाडेपछि समस्या उव्जीएको बताए ।
दाताबाट मिलेको एउटा त्रिपालले श्रीमती र चार छोरालाई ओत दिनुपरेको उनी सुनाउँछन् । उनले भने, “रातमा वर्षात् भएको अवस्थामा त त्रिपाल ओडेर रातभर जाग्राम बस्छौँ ।’
विराटनगर– ७ कै उषा सहनी भन्छिन् ‘खाद्यान्नको अभावमा पानी पिएर रात कटाएका छौँ । सरकारले बाढीबाट विस्थापित भएका परिवारलाई दिने भनेर उपलब्ध गराउने रु ७० का बारेमा कसैलाई केही थाहा छैन् कहाँ गएर लिने हो उनको प्रश्न थियो ।’ उनीहरु रु ७० भन्दा पनि सरकारले गतिलो त्रिपाल दिए राहत हुने उनको भनाई थियो ।
सरकारले उपलब्धगराएको राहतको कुनै लेखाजोखा नै नभएको उनीहरुको गुनासो छ । कोही राहतको पर्खाइमा हुने कोही लिएर गएको राहतको सही विवरण नदिने प्रवृत्ति ठीक नभएको बाढीपीडितको भनाइ छ । बाढी प्रभावित विगत साउन २७ गतेदेखि घरवारविहीन भएकाहरु घरमा फर्किए पनि घर बाढीले बगाएकाहरु कसरी घर फर्किने अनि कहाँ जाने ? भन्ने अन्यौलमा देखिन्छन् । तर विराटनगर महानगरपालिकाले भने पुनःस्थापनाको काम थालेको बताएको छ ।
महानगरका प्रमुख भीम पराजुलीका अनुसार एकपल्ट सबैलाई राहत प्रदान गरिएको छ । घरबारविहीनको पुनःस्थापना गर्ने काम सुचारु भएको छ । उहाँले भन्नुभयो, “पुनःस्थापनाको काम चाँडै गर्छौं ।”
एक करोडभन्दा बढीको राहत वितरण
यसैबीच, सांसद एवं एमाले मोरङका सचिव ऋषिकेष पोखरेलले मोरङ क्षेत्र नं १ का बाढीपीडितलाई रु एक करोड भन्दा बढीको राहत सामग्री वितरण गरको बताउँछन् । साउन २७ र २८ गते आएको अविरल वर्षापछि आएको बाढीले विस्थापित तथा प्रभावितलाई सांसद पोखरेलले साउन ३० गते यता एक करोड रुपैयाँको राहत सामग्री वितरण भएको बताए । गर्नुभएको हो । बाढीले जिल्लाका विभिन्न क्षेत्र डुबानमा थिए । तीमध्ये विभिन्न खोला छेउमा बसोबास गर्दैआएका सर्वसाधारण विस्थापित भएका थिए ।
सो क्रमसँगै मोरङको रतुवामाई नगरपालिका, आँपगाछी, डाइनिया, उर्लाबारी, राजघाटलगायतका स्थानमा सो रकम बराबरको चामल, चिउरा, दाल, नुन, तेल, त्रिपाल, झुललगायतका राहतका सामग्री उहाँले वितरण गर्नुभएको हो ।
उहाँले विस्थापित भएकाका लागि आवास निर्माणको समेत योजना बनाएको बताउनुभयो । बाढीपीडितलाई खाद्यान्नको अभाव भइरहेका बेला राहत पाएपछि सो क्षेत्रका बाढीपीडित निक्कै खुशी भएका स्थानीयवासीले बताएका छन् ।