भाद्र १९,। निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचन क्षेत्र नं २ मा आचारसंहिता उल्लंघन गर्नेलाई जेल हाल्नेसम्मको तयारी आयोगले गरेको खुलासा गर्नुभएको छ ।
आइतबार कलैयामा राजनीतिक दलसम्बद्ध प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै आयुक्त पौडेलले दलहरूले व्यापकरूपमा आचारसंहीताको उल्लंघन गरिरहेको बताउँदै अरू दललाई निषेध गर्ने काम कसैवाट हुन नहुने तर्क गर्नुभयो । संविधान कार्यान्वयन गर्ने पाटोको रूपमा स्थानीय निर्वाचन भइरहेको बताउँदै पौडेलले योग्य, तथा कुशल उम्मेदवार छान्न जनतालाई आग्रह गर्नुभयो ।
सामाजिक सद्भावमा खलल पुग्ने काम कोही कसैबाट भएमा त्यसको परिणाम गलत हुने तर्क गर्दै आयुक्त पौडेलले आपसी सद्भाव कायम गर्न सबै राजनीतिक दल तथा जनताले कार्य गर्नुपर्नेमा जोड दिुनुभयो । प्रदेश नं २ मा निर्वाचन सामग्री पठाइदिएको बताउँदै मत हाल्नलाई कुनै कठिनाई नहुने बताउनुभयो । सो अवसरमा दलहरूले आचारसंहिता पालना गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
त्यसैगरी, पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आयुक्त पौडेलले आयोगले प्रदेश नं २ को चुनावलाई सम्वेदनशीलरूपमा लिएको बताउनुभयो । नेपाल–भारतबीचको खुला सिमाना, सशस्त्र तथा भुमिगत समुहहरू भएको हुँदा संवेदनशील भएपनि दरिलो सुरक्षा प्रबन्ध गरी निर्वाचन गराउनमा कुनै कसर वाँकी नराख्ने गरी आयोगले प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो ।
स्थानीय तहको अन्तिम चुनाव भएको हुँदा कतिपय दलहरूले चुनाव जित्न प्रतिष्ठासँग जोड्न थालेको हुँदा यस्तो अवस्थामा आयोग निकै संवेदनशील भएर अगाडि बढिरहेको पौडेलले भन्नुभयो । कसैलाई काखा कसैलाई पाखा हिसाबले समाचार प्रशारण प्रकाशन नगर्न पनि उहाँले पत्रकारहरूलाई आग्रह गर्नुभयो ।
पार्टीमुखी पत्रकारिताभन्दा माथि उठेर कलम चलाउन उहाँले आग्रह गर्नुभयो । सरकार र आयोगवीच आचारसंहिता लगाएको विषयमा केही मतमतान्तर भइरहेको छ नि भन्ने प्रश्नको जवाफमा आयुक्त पौडेलले निर्वाचनको एकसय २० दिन अगाडि आचारसंहिता लगाउनुपर्ने बाध्यता भएको हुँदा आचारसंहिता लगाउनु परेको बताउँदै सरकारलाई केही अप्ठयारो परेको अवस्था छ भने निर्वाचन आयोगसँग बसेर गाँठो फुकाउन आयोग तयार रहेको जानकारी दिँदै आचारसंहिताको पालन गर्न सबैलाई आग्रह गर्नुभयो ।