राजपाभित्र उम्मेदवार छनौटमा तिब्र विवाद

651
views

काठमाडौं,१९ भदौ। राष्ट्रिय जनता पार्टी नेपालभित्र उम्मेदवार छनौटका विषयलाई लिएर तिब्र विवाद भएको छ । दुई नम्बर प्रदेशमा असोज २ मा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि उम्मेदवार मनोनयनको मिति आउन दुई दिनमात्रै बाँकी रहेपनि राजपा नेपालले कुनै पनि तहका उम्मेदवारको टुंगो लगाउन सकेको छैन।
पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन बहिष्कार गरेको राजपा नेपालभित्र आकंक्षी धेरै भएपनि समस्या भएको हो। तर, दुई जनामात्रै आकंक्षी भएका ठाउँमा पनि उत्तिकै विवाद सिर्जना भएको छ। उम्मेदवार छनौटको विषयलाई लिएर राजपा अध्यक्ष मण्डलभित्रै मतभेद बढेको छ।
तराई मधेस केन्द्रीत ६ पार्टी मिलेर बनेको राजपा नेपालका जिल्ला कमिटीले पठाएका सिफारिसमाथि अध्यक्षमण्डलको बैठकमा केही दिन यता छलफल भइरहेको छ। तर, मुख्य स्थानमै कुरा मिल्न नसकेको अध्यक्षमण्डलका एक सदस्यले नेपालखबरलाई जानकारी दिए। उनका अनुसार अध्यक्षमण्डलका संयोजकदेखि सदस्यहरुले फरक फरक व्यक्तिको नाम लिएपछि उम्मेदवार छान्न सकस भएको छ।
सबैभन्दा ठूलो विवाद वीरगञ्ज महानगरमा
राजपा नेपालको अध्यक्षमण्डलभित्र पर्साको वीरगन्ज महानगरपालिकाको मेयरलाई लिएर सबैभन्दा ठूलो विवाद छ। दुई नम्बर प्रदेशको एक मात्र महानगरपालिका भएकाले पनि वीरगन्ज महानगरमा सबैको नजर परेको छ। वीरगञ्ज महानगरपालिकाको मेयरका लागि दुई जनाको नाम केन्द्रमा आएको छ।
जिल्ला कमिटीले राजेशमान सिंह र विमल श्रीवास्तवको नाम पठाएको छ। अध्यक्षमण्डलका चार जना नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी, महिन्द्र यादव र अनिल झा राजेशमानका पक्षमा उभिएका छन् भने अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र सदस्य राजकिशोर यादव श्रीवास्तवका पक्षमा उभिएका छन्। अध्यक्षमण्डलका संयोजकले नै श्रीवास्तवको नाममा अडान लिएपछि वीरगन्ज महानगरपालिकाको मेयरको टुंगो लाग्न नसकेको अध्यक्षमण्डलका एक सदस्यले नेपालखबरलाई बताए।
अध्यक्ष मण्डलका संयोजक ठाकुर र राजकिशोरले यसअघि नै वीरगन्जमा मेयर भइसकेकाले श्रीवास्तवलाई नै उम्मेदवार बनाउनु पर्ने अडान लिएका छन् भने अध्यक्षमण्डलका अन्य सदस्यहरुले राजेशमानको पक्षमा माहौला राम्रो रहेकाले उनलाई उम्मेदवार बनाउनु पर्ने बताएका छन्। अध्यक्ष मण्डल नै दुई उम्मेदवारको पक्ष विपक्षमा उभिएपछि वीरगन्ज महानगरको उम्मेदवारको टुंगो लाग्न सकेको छैन।
जनकपुर उपमहानगरसहित धेरै ठाउँमा उम्मेदवार विवाद
धनुषाको जनकपुर उपमहानगरपालिकाको उम्मेदवारको विषयमा पनि विवाद उत्तिकै छ। पार्टीका प्रवक्ताको जिम्मेवारीमासमेत रहेका लालकिशोर साहले जनकपुर उपमहानगरपालिकाको मेयरमा दाबी गरेका छन्। यस्तै सोही उपमहानगरपालिकाको मेयरका लागि जिल्ला कमिटीले शिवशंकर साह हिराको नाम पनि केन्द्रमा पठाएको छ।
मेयरका लागि प्रस्ताव गरिएका शिवशंकर उद्योग वाणिज्य संघ दुई नम्बर प्रदेशका संयोजक तथा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष हुन्। व्यापारीक पृष्ठभूमिका शिवशंकरको अवस्था राम्रो रहेकाले उनलाई उम्मेदवार बनाउनु पर्ने अडान बहुमत अध्यक्ष मण्डलका सदस्यहरुले लिएका छन्।
तर, राजेन्द्र महतोले भने लालकिशोर साहलाई उम्मेदवार बनाउनु पर्ने अडान लिइरहेका छन्। महतोले अडान नछोडेपछि जनकपुर उपमहानगरपालिकाको उम्मेदवार पनि टुंगो लगाउन हम्मेहम्मे परेको छ।
यस्तै बाराको जितपुर सिमरा उपमहानगरपालिका, सर्लाहीको मलंगवा नगरपालिका लगायतका ठाउँका उम्मेदवारका विषयमा पनि अध्यक्षमण्डलमा विवाद रहेको अध्यक्षमण्डलका एक सदस्यले जानकारी दिए। उनका अनुसार सर्लाहीको मलंगवा नगरपालिकामा अध्यक्षमण्डलका सदस्य महिन्द्रराय यादवले नागेश्वर राय यादवको नाममा अडान लिएपछि सहमति जुट्न सकेको छैन।
जिल्ला कमिटीले दिनेश रायको पनि नाम पठाएको छ। अध्यक्षमण्डलका अन्य सबै सदस्यहरु दिनेशको पक्षमा उभिएका छन्। तर, महिन्द्ररायले नागेश्वरको नाममा अडान नछोडेकाले उम्मेदवारको टुंगो लगाउन नसकिएको उनले बताए। उनका अनुसार सवै स्थानीय तहका उम्मेदवारका विषयमा बैठकमा विवाद छ। पर्सि बेलुकासम्म उम्मेदवारको टुंगो लाग्छः झा
राजपा नेपालका महासचिव केशव झाले पनि उम्मेदवारका विषयमा केही विवाद भएको स्वीकार्छन्। उनले दुई दिनभित्रै उम्मेदवारको टुंगो लाग्ने पनि बताए। ‘जिल्ला कमिटीले पठाएका सिफारिसमाथि छलफल भइरहेको छ। धेरै आकंक्षी हुँदा उम्मेदवार छनौट गर्न केही गाह्रो हुन्छ नै। त्यसैले हामीले मनोनयनको एकदिन अघि नै उम्मेदवारको टुंगो लगाउँछौं,’ झाले भने।
महासचिव झाले २० गते साँझसम्म १ सय ३६ वटै तहका उम्मेदवारको टुंगो लाग्ने बताए। ‘भोलिसम्मै सक्ने गरी छलफल भइरहेको छ। सकेसम्म भोलि नै नभए पर्सि रातिसम्म भएपनि उम्मेदवारको टुंगो लाग्छ,’ उनले भने।
निर्वाचन आयोगले असोज २ मा हुने स्थानीय तह निर्वाचनका लागि भदौ २१ गते उम्मेदवारको मनोनयनका लागि समय तोकेको छ। तर, अन्य राजनीतिक दलहरु झै राजपा नेपालले पनि उम्मेदवारको टुंगो लगाउन सकेको छैन।