काठमाडौंबाट समातियो ८८ किलो सुन

611
views

काठमाडौं,१९ भदौ। काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।बा १७ च ६४२७ नम्बरको गाडीबाट प्रहरीले सुन बरामद गरेको एसएसपी दिवेश लोहनीले जानकारी दिए ।
गाडी पार्किङ गर्ने स्थानमा सुन रहेको सूचना पाएपछि प्रहरीले गएराति १० बजेदेखि नै निगरानी राखेको थियो ।
सोमबार बिहान गाडी चालकले स्टार्ट गर्नासाथ प्रहरी पुगेर नियन्त्रणमा लिएको हो । स्ट्रोम जीपबाट ८८ किलो सुन बरामद भएको र गाडी चालक मनोज अधिकारीलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय प्रहरी प्रमुख जयबहादुर चन्दले जानकारी दिए ।
यतिधेरै सुन बरामद भएको नेपालको इतिहासमै पहिलोपटक हो । चन्दले यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रहरीका अनुसार उक्त सुन केरुङ नाकाबाट रसुवा हुँदै आएको पुष्टी भइसकेको छ । तस्करीमा चिनियाँ नागरिकको संलग्नता पनि खुलेको छ ।
उक्त सुन कहाँ लगिँदै थियो भन्ने खुलेको छैन । ‘अनुसन्धान जारी छ,’ एसएसपी लोहनीले भने । उनका अनुसार १र२ जना मात्र नभई यसमा संगठित गिरोह नै संलग्न रहेको शंका छ ।

प्रहरीले केही दिनअघि नै गाडीमा ठूलो परिमाणमा सुन ल्याइँदै गरेको सूचना पाएको थियो । सोहीअनुसार पिछा गर्दै जाँदा क्षेत्रपाटीबाट सुन बरामद भएको हो ।
उक्त टाटा सफारी स्ट्रोममा ‘भीआईपी’ लेखिएको स्टिकर टाँसिएको थियो । मकवानपुर स्थायी घर भएका जिप चालक मनोज अधिकारी पक्राउ परेका छन् । उनले अनुसन्धानमा असहयोग गरिरहेको प्रहरीले जनाएको छ ।
यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बरामद गरेको ३५ किलो सुन ल्याउने समूहसँग अहिलेको तस्करीको ‘कनेक्सन’ खोतल्ने प्रयास प्रहरीले थालेको छ ।