उपप्रधान तथा परराष्ट्रमन्त्री महरा चीन भ्रमण, कुनैपनि सम्झौता नगर्ने

1343
views

नवदृष्टि संवाददाता
काठमाण्डौ, २१, भदौ । ६ दिने भ्रमणमा चीन गएका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले यसपटक चीनसँग कुनैपनि सम्झौता गर्ने छैनन् । ७ सदस्यीय टोलीको नेतृत्व गर्दै आज एयर चाइनाको बिमानबाट चीन उडेका महरा चेङ्दु पुगेर साँझ बेइजिङ पुग्नेछन् । चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा चीन गएका महराको भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयको चीन हेर्ने उत्तरपूर्वी महाशाखा प्रमुख तथा चीनका लागि नेपाली राजदूतसहितका अधिकारी छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण दलमा रहेर दुई साताअघि मात्र दिल्लीबाट फर्केका महरा लगत्तै बेइजिङतर्फ लागेका हुन् । बेइजिङमा महराले समकक्षी वाङ यीसँग दुई पक्षीय विषयहरूमा छलफल गर्नेछन् भने प्रधानमन्त्री ली खछ्याङसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि छ ।
अघिल्लो महिना नेपाल भ्रमणमा आएका उपप्रधानन्त्री वाङ याङसहित चिनियाँ कम्युनिष्ट पार्टीका उच्च नेताहरूसँग राम्रो सम्बन्ध रहेका महराले पार्टीको १९ औँ महधिवेशनअघि उनीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको उनका प्रमुख स्वकीय सचिव युवराज चौलागाईले बताए।
केपी ओली नेतृत्वको सरकारले चीनसँग गरेको पारवहन सम्झौता कार्यन्वयन गर्नेबारे भने महराले छलफल गर्ने परराष्ट्रमन्त्रालय स्रोतले जनाएको छ । परराष्ट्र मन्त्रालयले सोमबार नै विज्ञप्ति जारी गरेर महराको भ्रमण तालिका सार्वजनिक गरेको थियो । विज्ञप्तिमा उल्लेख गरिए अनुसार महराले गोन्जाओमा ६ महिनाअघि खुलेको नेपाली महावाणिज्य दूतावास उद्घाटन गर्ने र चाइना फरेन अफेयर्स युनिभर्सिटीमा आयोजना हुने अन्तरक्रियामा सहभागि भएर आफ्नो धारणा राख्ने कार्यक्रम ।