काठमाण्डौ, २२, भदौ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारको विरुद्ध काठमाण्डौ माछापाेखरीमा कोण सभा गर्दै धर्मनिरपेक्षताको संविधान च्यात्नुपर्ने बताएको छ । कोणसभामा बोल्दै सो पार्टीका सह–महामन्त्री नेता श्यामकुमार केसीले हिन्दुराष्ट्र स्थापना गर्ने, धर्म निरपेक्षताको संविधानलाई खारेज गर्नेतर्फ पार्टीको आन्दोलन जारी रहेकोले धर्म निरपेक्षता बनाउने संविधान नच्यातुन्जेल आन्दोलन जारी रहेको बताए । केसीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीले जुन दिन त्यो दर्ताको प्रक्रियामा गई साङ्गठानिक रूपमा गोलबद्व भयो सोही दिनदेखि पार्टीको आन्दोलन जारि रहेको स्पष्ट पारे ।
मुलुकमा हिन्दुराष्ट्र स्थापना नभएसम्म आफ्नो पार्टीको अभियानले विश्राम नलिने समेत नेता केसीको भनाई थियो । कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रशिक्षण विभाग प्रमुख झनक प्याकुरेलले मुलुकमा राष्ट्रिय चरीत्र बोकेको राजसंस्था मात्र भएको बताए । उनले राष्ट्रिय चरित्रको भुमिका राजनीतिक पार्टीको स्कुलिङ्गबाट आएका राष्ट्रपतिहरुले अभिभावकत्व ग्रहण गर्न नसकेको भन्दै राज संस्थाको स्थापना गर्नु अपरिहार्य रहेको समेत बताए ।
प्याकुरेलले देश चलाउने माफियाहरुले ठुलो आयोजना बिकासको बहानामा लाखौ करोडौं लिएर भ्रष्टाचारलाई प्रश्रय दिएको समेत बताए ।
कार्यक्रममा बोल्दै अन्य केन्द्रिय नेताहरुले नेपाली समाजलाई परिवर्तन गर्नसक्ने पौरखी हातहरुलाइ बिदेशी भुमीको गुलामी बनाउन पठाएको भन्दै जीउज्यानको बाजी राखेर मरुभूमिमा रोजीरोटीको लागि गएका प्रवासी नेपाली युवाहरुलाई स्वदेशमै आत्मनिर्भरको व्यवस्था गरिनुपर्ने बताए ।