समुन्द्री आँधी इर्मा आँधीबाट अमेरिकाको फ्लोरिडामा ठूलो क्षति

1467
views

एजेन्सी । अमेरिकाको फ्लोरिडामा आएको समुद्री आँधी इर्मा उत्तरतर्फ बढ्दै गर्दा तटीय क्षेत्रमा व्यापक बाढी तथा हावाहुरी आएको छ ।
शक्तिशाली आँधीका कारण २० लाखभन्दा बढी घर तथा कलकारखानामा बिजुली आपूर्ति बन्द भएको छ । अधिकारीहरुले आँधीको गति कमजोर भएपनि हावाहुरी घातक हुनसक्ने चेतावनी दिएका छन् ।
आँधीका कारण अहिलेसम्म फ्लोरिडामा कम्तीमा ३ जनाको मृत्यु भएको छ । सहरमा आँधीले ठूलो क्षति पुगेपछि लुटपाट हुनसक्ने भन्दै थुप्रै शहरहरुमा रातभर निषेधाज्ञा जारी गरिएको छ ।
राष्ट्रपति डोनल्ड ट्रम्पले फ्लोरिडामा ठूलो संकट आइपरेको घोषणालाई अनुमोदन गर्दै संघ सरकारबाट थप आपतकालीन सहायता निकासा गरेका छन् ।
इर्मा आँधीलाई ठूलो राक्षसको संज्ञा दिंदै ट्रम्पले आँधीका बेला सहयोगमा जुटिरहेका संघीय निकायहरुको प्रशंसा गरेका छन् । उनले आफू छिट्टै प्रभावित राज्य जाने बताएका छन् ।
यसअघि इर्मा आँधीले क्यारेबियन क्षेत्रमा व्यापक विध्वंस निम्त्याएको छ । सो आँधीका कारण क्यारेबियन क्षेत्रमा २८ जनाको मृत्यु भएको थियो ।