एएफसी यू–१६ च्याम्पियनसिपः नेपाललाई जित्नैपर्ने दबाव

1869
views

काठमाण्डौ । घरेलु मैदानमै भइरहेको एएफसी यू–१६ च्याम्पियनसिपको छनोट चरणअन्तर्गत नेपालले पुनः शुक्रबार समूह ‘डी’ को दोस्रो खेलमा भारतको सामना गर्नुपर्ने भएको छ । पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन इराकसँग १–० ले पराजित भएको नेपाली टोलीलाई अघिल्लो चरण प्रवेशका लागि भारतसँग जित्नैपर्ने दबाव छ । साथै दिउँसो हल्चोक मैदानमा हुने खेलमा साफ यू–१५ को हारको बदला लिने मौका पनि नेपालले पाएको छ ।नेपालका प्रशिक्षक सुनील श्रेष्ठले भारतविरुद्ध जित्नैपर्ने दबाव भएकाले त्यसै रणनिती अनुरुप मैदानमा उत्रने बताउँदै भने ‘भारत विरुद्धको खेल हाम्रो अन्तिम मौका हो,’ भारतका प्रशिक्षक बिबियानो फर्नान्डेज भने नेपालविरुद्ध ढुक्क भएर खेल्ने बताउँछन् । ‘नेपाललाई हामीले पछिल्ला दुई खेल हराएका छौ,’ उनले भने, ‘तर आयोजक राष्ट्र भएकाले नेपालले कठिन चुनौती दिने विश्वास लिएका छौ ।’
हालसम्म नेपालले सन् २०००, २००४ र २०१४ गरि तीनपटक छनोट चरण पार गरेको छ । समूह ‘डी’ मै रहेका इराकले ९ र भारतले ७ पटक छनोट चरण पार गरिसकेका छन् ।
समूहको शीर्ष स्थानमा रहने टोली स्वतः अन्तिम चरणलाई छनोट हुनेछन् भने छनोट अन्तर्गत सबै समूहको दोस्रो स्थानमा रहने शीर्ष ५ टोलीले पनि छनोट चरण पार गर्नेछन् । एएफसी यू–१६ फुटबल च्याम्पियनसिप सन् २०१८ सेप्टेम्बरमा मलेसियामा हुदैछ ।