सप्तरीका १२ तहको नतिजा सार्वजनिक, नयाँ शक्ति नेपालले पनि खाता खोल्यो

572
views

सप्तरी, ७ असोज । सप्तरीका थप पाँच स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । हालसम्म कांग्रेस ४, राजपा र फोरम ३ र ३ मा स्थानमा निर्वाचित भएका छन् । जिल्लाको सुरुङा नगरपालिकामा काग्रेसले जितेको छ । कांग्रेसका मुक्तिनाथ चौधरी मेयरमा र कांग्रेसकै बिन्दा पासवान उपमेयरमा निर्वाचित भए । मेयरमा चौधरीले ५२७९ मत पाएर विजयी बने । त्यस्तै उपमेयरमा बिन्दा पासवानले ५ हजार ३६ मत पाएर विजयी बनिन् । सप्तरीमा काँग्रेस चार ठाउँमा विजयी बनेको छ ।
तिलाठी–कोइलाडी गाउँपालिकामा राजपा विजयी भएको छ । तिलाठी–कोइलाडी गाँउपालिकाको प्रमुखमा सतिश सिंह र उपप्रमुखमा सुचिता यादव निर्वाचित हुन् । यो राजपाको तेस्रो जित हो । सिंहले २९८७ मत पाएका छन् ।
यस्तै, संघीय समाजवादी फोरम नेपालले तेस्रो जीत हात पारेको छ । बोदे बर्साइन नगरपालिकामा मेयर र उप–मेयर दुबैमा फोरम नेपालका उम्मेदबार विजयी भएका हुन् । मेयर पदमा संघीय फोरमका आतिश सिंह यादव ४५४७ मतसहित मेयर पदमा र उपमेयरमा पनि फोरम नेपालकै रंजु साहले ३७२१ मत प्राप्त गरी विजयी भए । यस्तै संघीय समाजवादी फोरम नेपालले जिल्लाको बलान–बिहुल गाउँपालिकामा पनि जितेको छ । संघीय फोरमका दयानन्द गोइत अध्यक्ष पदमा तथा उपाध्यक्षमा संघीय फोरमकै रुबी गुप्ता भएका छन् ।
छिन्नमस्ता गाउँपालिकामा नयाँशक्ति
सप्तरीको छिन्नमस्ता गाउँपालिकामा नयाँ शक्ति पार्टी, नेपाल विजयी भएको छ । यो नयाँ शक्ति पार्टी नेपालको पहिलो जित हो । शनिबार बिहान सार्वजनिक परिणाम अनुसार, छिन्नमस्ता गाउँपलिकाको प्रमुखमा नयाँ शक्तिका उम्मेदबार सुर्यनारायण मण्डल ‘कुरुड’ निर्वाचित बनेका छन् । उनले २८०५ मतका साथ विजयी भएका हुन् । यस्तै उप मेयरमा राजपाका उम्मेदवार उषा मण्डलले १७१० मत पाएर विजयी भएकी हुन् । सप्तरीमा १२ स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ ।