माधव नेपाललाई ओलीको जवाफः मलाई देवत्वकरणमा रुची छैन्

1800
views

नवदृष्टि संवाददाता
काठमाण्डौ, ८ असोज । माधव नेपाललाई जवाफ दिदैं एमाले अध्यक्ष केपी र्मा ओलीले देवत्वकरणमा रुची नभएको बताए । केन्द्रीय कमिटी बैठकमा जवाफ दिँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । एमाले केन्द्रिय कमिटीको आईतवार सम्पन्न बैठकमा बोल्दै
ओलीले भने ‘मलाई देवत्वकरणमा रुची छैन्, पार्टीले पाएका सबै उपलव्धी सामुहिक रुपमा प्राप्त भएका हुन् । पार्टी अध्यक्षका रुपमा मैले मात्र गरेर होइन । तर, पार्टी ध्वंश भयो भन्ने र चुनावमा पार्टी पहिलो हुने कुराको तालमेल चाहिँ मिल्दैन् ।’
बरिष्ठ नेता नेपालले शुक्रबार बैठकमा बोल्ने क्रममा अध्यक्ष ओलीलाई देवत्वकरण गर्न खोजिएको र पार्टीलाई कोटरीबाट चलाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । बैठकमा आगामी निर्वाचनमा केन्द्र र सबै सात प्रदेशमा सरकारको नेतृत्व गर्ने संकल्प सहित एमाले अध्यक्ष ओलीको प्रतिवेदन पारीत भएको छ ।
एमालेले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्ने मापदण्ड समेत तय गरेको छ । उम्मेदवारको टिकटमा हस्ताक्षर गर्ने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिने गरी निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय समेत गरेको छ । बैठकले बिभिन्न विषयमा १४ बुँदे निर्णय समेत गरेको छ । बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नहरुको ओलीले जवाफ दिएका थिए । ओलीले उनले बरिष्ठ नेताहरुलाई स्थायी कमिटीमा छलफल गर्न समेत आग्रह गरे ।
एमालेका प्रादेशिक निर्वाचन क्षेत्र समन्वय कमिटी र प्रतिनिधिसभाका क्षेत्रीय निर्वाचन कमिटीहरुले बढीमा तीन जनाको नाम प्रदेश कमिटीमा सिफारिस गर्नुपर्नेछ । सकेसम्म क्षेत्रीय कमिटीबाटै सर्वसम्मत रुपमा एकजनाको नाम सिफारिस गर्न प्रोत्साहन गरिएको प्रचार बिभाग उपप्रमुख सूर्य थापाले बताए ।
प्रदेशबाट सिफारिस भएका नामका आधारमा स्थायी कमिटीले उम्मेदवार तोक्नेछ । एमालेका सबै प्रदेशसभा र प्रतिनिधिसभाका उम्मेदवारको अन्तिम टुंगो लगाउने जिम्मा केन्द्रीय कमिटीले स्थायी कमिटीलाई दिएको छ ।
अध्यक्ष ओलीले बोलिरहँदा माधव नेपालले अब मैले पनि बोल्नैपर्ने भयो भनेर समय मागेका थिए । तर, ओलीले पछि छलफल गरौंला भन्दै बैठक टुंग्याएको स्रोतले जनाएको छ ।
बैठकमा उपमहासचिव घनश्याम भुषालले अध्यक्षले अध्यक्षको हाइटबाट बोल्नुर्पयो भन्दै आपत्ति जनाएका थिए । जवाफमा ओलीले भने, ‘मैले मिडियाबाट तपाईका अर्ति उपदेशहरु पढिरहेको छु ।’ केहीबेर तीन नेताबीच तनाव भएपनि बैठक सर्वसम्मत रुपमा ओलीको प्रतिवेदन पारित गर्दै सम्पन्न भएको एक नेताले बताए ।