नुवाकोटको तलेजु मन्दिरमा फुलपाती भित्र्याइयो (तस्विर सहित)

2393
views

रिना खनाल
नुवाकोट । नुवाकोटको धार्मिक तथा ऐतिहासिक तलेजु मन्दिरमा बाजागाजाका साथ फुलपाती भित्राइएको छ । विदुर नगरपालिका २ मा रहेको तलेजु भवानी मन्दिरमा सरकारी कर्मचारीको उपस्थिति र नेपाली सेनाको सलामीका साथ बस्नेत, मगर र अर्याल समुदायले संकलन गरेको फुलपाती विशेष कार्यक्रमका साथ भित्र्याइएको हो ।

नुवाकोटको फुलपाती भित्राउने परम्परा मल्लकालदेखि नै सञ्चालन भएको मानिन्छ । वि.स. १८०१ साल असोज १५ गते तेश्रो प्रयासमा पृथ्वीनारायण शाहले नुवाकोट विजय प्राप्त गरेपछि झनै महत्व बढेर गएको सरकारका प्रतिनिधि द्वारे महेन्द्रले बताए । फुलपाती भित्र्याउने परम्परा गोरखा र हनुमानढोकामा जति महत्वपूर्ण रहेको छ, नुवाकोटको पनि उत्तिकै महत्व रहेको उनले बताए । सरकारी प्रतिनिधि सहितका सर्वसाधारण पहिले साततले दरबार राष्ट्रिय संग्रहालयमा भेला भएर वृहत फुलपाती जात्रासहित भित्राएका हुन् । प्रसिद्ध तलेजुमा फुलपाती भित्र्याउनु अघि फुलपाती ल्याउने स्थान र फुलपाती भित्र्याउने स्थानमा लिपपोत गरि चोखो बनाई विशेष पुजापाठ गरिएको थियो ।

सयौँको संख्यामा उपस्थित सर्वसाधारण साततले दरबार परिसरबाट ¥यालीसहित निस्केर फुलपाती लिन अशोकबाटिका स्थित धोवीधाराको चौतारामा पुगेर संकलित फुलपाती लिएर तलेजुमा बाजागाजा र तामझामका साथ भित्राइएको हो । सो अवसरमा तलेजु भवानीको मन्दिरमा सरकारीस्तरबाट एउटा बोका वलि दिइएको थियो । जंगलमा गएर बस्नेत, मगर र अर्याल समुदायले संकलन गरेको फुलपाती बाजागाजा र उच्च सुरक्षाका साथ भित्राइएको हो । वाजागाजासहित दुई किलोमिटर दुरीवाट लावा लस्करसहित पुगेर संकलन गरेर ल्याइएको फुलपाती भित्र्याइएको हो । फुलपाती भित्र्याउने कार्यमा नेपाली सेनाको टुकडीले मंगल सलामी दिनुका साथै प्रमुख जिल्ला अधिकारी जगदीश बराल लगायत सेना, प्रहरी तथा विभिन्न कार्यालयका प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । फुलपाती भित्राएपछि सवैले प्रसाद स्वरुप भैरवी र तलेजुको टिका ग्रहण गरेका थिए ।