योजनावद्ध हत्या हो, हत्यामा संलग्न उम्किन पाउँदैनन्– गृहमन्त्री

पेस्तोल सहित तीनजना पक्राउ

2031
views

काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यालगत्तै तीन जनालाई पेस्तोलसहित पक्राउ गरिएको जानकारी दिएका छन् । पक्राउ पर्नेमा काभ्रे रोशी गाउँपालिकाका छिरिङ तामाङ,सञ्जय तामाङ र दिलिप लामा रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरु गौचन हत्या प्रकरणमा संलग्न रहे नरहेको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई बौद्ध जोरपाटीबाट अपरान्ह ३ बजे पक्राउ गरिएको हो ।

मन्त्री शर्माले हत्यामा संलग्न व्यक्तिलाई छिट्टै सार्वजनिक गरिने बताउँदै धैर्यधारण गर्न शोकाकुल परिवार तथा निर्माण व्यावसायिलाई आग्रह गरेका छन् ।
मन्त्री शर्मा गौचनको हत्याको खबर पाएपछि घटनास्थल जान भनेर गृहमन्त्रालयबाट हिँडेका थिए । तर, सुरक्षाकर्मीले सुरक्षाको कारण देखाउँदै बीचबाटोबाटै फर्काएको बताइएको छ ।
बानेश्वर क्षेत्रमा मृतकका आफन्त र निर्माण व्यवसायीहरुले शान्ति सुरक्षाको माग गर्दै गृहमन्त्री शर्मा विरुद्ध नाराबाजी गरेका छन् ।
मन्त्री शर्मा गृहमन्त्रालय फर्किएर प्रहरी अधिकारीहरुको आकस्मिक बैठक बोलाएका छन् । बैठकमा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले गौचनको हत्यालगत्तै परिचालित प्रहरीले काठमाडौं उपत्यकाबाट पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको जानकारी गराएका थिए ।
घटनालगत्तै प्रहरी महानिरीक्षकबाट ब्रिफिङ लिएका मन्त्री शर्माले ‘घटना दुःखद र योजनावद्ध तरिकाले हत्या भएको बताए । ‘स्वर्गीय गौचनप्रति म श्रद्धाञ्जली अर्पण गर्दछु । परिवारजन र निर्माण व्यवसायीप्रति मेरो समवेदना छ,’ मन्त्री शर्माले भने, ‘हत्यामा संलग्नहरु उम्किन पाउँदैनन् ।