प्रहरीलाई हेरेर मुस्काएका चारमहिने बालकको कहानी

2036
views

नयाँ दिल्ली, असोज २४ । एक प्रहरी अधिकारीलाई हेरेर मुस्काएका बालकको तस्वीर भारतमा भाइरल भएको छ । तीन दिन अघि ट्विटरमा सार्वजनिक यो तस्वीरलाई निकैले रुचाएका छन् ।
भारतीय संचारमाध्यमका अनुसार चार महिने यी बालकलाई एक समूहले अपहरण गरेको थियो । फैजान खान नाम गरेका यी बालक आफ्नी आमासँग फुटपाथमा बस्दै आएका थिए । उनकी आमाले प्रहरीसमक्ष बालक अपहरणको उजुरी गरेकी थिइन् । प्रहरीले १६ घण्टाभित्रै यी बालकलाई सकुशल उद्धार गरेको थियो ।
खोजतलासमा खटिएको टिमकै सदस्य इन्सपेक्टर आर संजय कुमारले ती बालकलाई आफ्नो हातमा लिए । संजय कुमारको मुहारमा हेरेर ती बालकले अलौकिक मुस्कान छरे ।
प्रहरीले अपहरणमा संलग्न दुई जनालाई पक्राउसमेत गरेको छ । अपहरणकारीले बिक्री गर्ने उद्देश्यले बालकको अपहरण गरेको बताइएको छ ।
एडिस्नल कमिस्नर स्वाति लकाराले उक्त तस्वीर ट्विट गर्दै इन्सपेक्टर संजय कुमारको टिमले ती बालकलाई अपहरणमुक्त गराएको उल्लेख गरेकी छन् । उनले बालकको मुस्कानले नै सबैकुरा बयान गरेको टिप्पणी पनि गरेकी छन् । (एजेन्सी)