यसरी फर्कियो कंगोबाट १५० जनाको नेपाली सैनिक टोली

1834
views

काठमाडौंः अफ्रिकी मुलुकमा शान्ति स्थापनाका लागि कंगो गएको १५० जना नेपाली सैनिककाे टोली स्वदेश फिर्ता भएको छ । सेनाको स्वदेश फिर्तालाई नेपाली सेना नेतृत्वको हेलचेक्र्याइँ र संयुक्त राष्ट्रसंघसँगको कमजोर समन्वय भनिएको छ । नेपाली सेनाको सैनिक मुख्यालयले आवश्यकता भन्दा बढी सैनिकलाई पठाएको थियो तर राष्ट्रसंघले नेपाली शान्ति सैनिक फिर्ता पठाएको हो । शान्ति स्थापनार्थका लागि नेपाली शान्ति सेना एक वर्षका लागि असार अन्तिम साता कंगो गएको सैनिक स्रोतले बताएको छ ।
उक्त टोलि बिहीबार राति १० बजे काठमाडौं फर्किएको छ । जंगि अड्डाका एक सेन्कि अधिकारीले भने कंगोमा अब ७ सय नेपाली शान्ति सैनिक कार्यरत छन् । ‘संख्या कटौती हुने पहिल्यै थाहा थियो तर, संख्या बढाएर पठाएपछि समन्वय गर्न नसक्दा मिसनबाट फर्कनुर्पयो ।’
फर्काइएका १ सय ५० जना सबैलाई मुख्यालयले माघभित्र सुडान, मालीलगायत देशमा पठाइसक्ने आश्वासन दिएको स्रोतले बताएको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयका महासेनानीसमेत रहेका निमित्त प्रवक्ता विजय थापाले संयुक्त राष्ट्रसंघले बजेट कटौती गरेपछि अन्य देशसँगै नेपाली शान्ति सैनिकको संख्या पनि कटौती भएको बताए । महासेनानी थापाले भने, ‘उनीहरूलाई काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा राखेका छौं । उनीहरूलाई अन्य देश पठाउन राष्ट्रसंघसँग परामर्श गर्दै छौं ।’ कंगोमा नेपाली शान्ति मिसनको नेतृत्व सम्हालेका प्रमुख सेनानी वसन्त गौतमले अन्य देशका शान्ति सैनिकको संख्यासमेत कटौती गरेको र त्यसमा नेपाल पनि परेकाले फर्किनुको कुनै विकल्प नभएको जवाफ दिएका थिए ।
राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत प्रमुख सेनानी गौतमको नेतृत्वमा ८ सय ५० जना सैनिक अधिकारी असार अन्तिम साता कंगो गएका थिए ।