एमाले अध्यक्ष ओली चुनावी कमाण्डको ‘एसल्टमा’

1949
views

काठमाडौं, २४ असोज– एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन कमाण्ड गर्नेगरी निर्वाचन परिचालन गर्ने निर्णय गरेको छ ।
संसदीय दलको कार्यालय सिंहदरवारमा मंगलवार बसेको स्थायी समिति बैठकले पार्टीका सबैजसो शीर्ष नेता प्रत्यक्षतर्फको निर्वाचनमा उम्मेदवार बन्ने निर्णयमा पुग्दै यस्तो निर्णय गरेको हो । मुख्य सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेता समानुपातिक तर्फबाट आफ्नो स्थान सुरक्षित गर्न लागिरहेका बेला एमालेका भने सबैजसो शीर्ष नेता प्रत्यक्ष निर्वाचनमै होमिने भएका छन् ।
निर्वाचन परिचालनको कमाण्ड सम्हाल्ने नेतालाई प्रत्यक्ष चुनावमा उम्मेदवार नबनाउने विषयमा छलफल भए पनि सबै शीर्ष नेता प्रत्यक्ष तर्फकै उम्मेदवार बन्ने र पार्टी अध्यक्ष ओलीले निर्वाचन परिचालनको कमाण्ड गर्ने निर्णय भएको हो । अध्यक्ष ओली झापा– ५ बाट उम्मेदवार बन्ने तयारीमा हुनुहुन्छ । यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका ओलीको नाम सुनसरी र सिराहामा पनि सिफारिस भएको छ । वरिष्ठ नेता झलनाथ खनाल इलाम १, अर्का वरिष्ठ नेता माधवकुमार नेपाल काठमाडौं २, उपाध्यक्ष बामदेव गौतम बर्दिया १, उपाध्यक्ष भीम रावल अछाम १, अष्टलक्ष्मी शाक्य काठमाडौं ९ बाट उम्मेदवार बन्ने वताइएको छ ।
यस्तै महासचिव ईश्वर पोखरेल काठमाडौं ५, उपमहासचिव विष्णु पौडेल रुपन्देही ३, घनश्याम भुसाल रुपन्देही २, सचिव प्रदीप ज्ञवाली गुल्मी १, गोकर्ण बिष्ट गुल्मी २, पृथ्वी सुब्बा गुरुङ लमजुङ र योगेश भट्टराई ताप्लेजुङबाट उम्मेदवार बन्ने निश्चित भएको छ ।
सचिव भीम आचार्य सुनसरीबाट प्रदेशसभा सदस्यको उम्मेदवार र स्थायी समिति सदस्य शंकर पोखरेल दाङ २, सुरेन्द्र पाण्डे चितवन १ र छविलाल विश्वकर्मा रुपन्देही १ बाट उम्मेदवार बन्नेभएका छन् ।