बेनी–जोमसोम–कोरला सडकको बजेट सुरुवाती चरणमै सकियो

1105
views

काठमाडौं, २९ असोज । बेनी–जोमसोम–कोरला सडक आयोजनाले यस वर्षका लागि सरकारले दिएको ४५ करोड रुपैयाँ खर्च गरिसकेको छ । अन्य आयोजनामा बजेट खर्च हुन नसकिरहँदा शुरुवाति चरणमै सकेको हो ।
नवलपरासी गैंडाकोटदेखि पाल्पा, बागलुङ हुँदै कोरला जोड्ने उक्त सडक चार सय ३५ किलोमिटरको छ । आयोजनाले नवलपरासीदेखि पाल्पा र बेनीदेखि कोरला दुई भागमा बाँडेर काम अगाडि बढाएको छ । सडकको बेनी–जोमसोम–कोरला खण्डमा अहिले सडक विस्तार तथा ग्राभेलिङ भइरहेको छ ।
उत्तर–दक्षिण व्यापारिक मार्ग आयोजना प्रमुख भीमार्जुन अधिकारीका अनुसार यस वर्षका लागि छुट्याइएको बजेट तीन महिनामै सकिएको हो । द्रुत गतिमा काम अगाडि बढेकाले बजेट सकिएको उनको भनाई छ । थप बजेट मागको प्रक्रिया पनि सुरु भएको छ । उक्त सडकका लागि ६९ करोड रुपैयाँ विनियोजन भएको थियो, जसमध्ये ६८ करोड २५ लाख ५८ हजार खर्च भयो ।
सोही करिडोरको राम्दी–मालढुंगा खण्डमा सरकारले ४५ करोड रुपैयाँ विनियोजन गरेको छ । उक्त खण्ड पनि दुई लेनको बनाउन लागिएको छ ।
उक्त सडकमा पर्ने आठ वटा पुल निर्माणका लागि टेन्डरको काम अगाडि बढेको छ । अन्य स्थानमा भने पुल निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न लागिएको छ ।
गत वर्ष भने गैंडाकोट–राम्दी–मालढुंगा सडकका लागि २८ करोड ८२ लाख रुपैयाँ छुट्याइएको थियो । त्यसमध्ये २६ करोड ६९ लाख रुपैयाँ खर्च भएको थियो ।