सिसी टिभी जडानबारे पोखरामा छलफल

910
views

नवदृष्टि संवाददाता
पोखरा । पोखराका मुख्य केन्द्रहरुमा सिसी टिभी जडानबारे छलफल भएको छ । सुरक्षित शहरको रुपमा विकास गर्ने उद्वेश्यले यहाँका मुख्य केन्द्रहरुमा सिसी क्यामेरा जडानको लागि सरोकारवालाहरु सहमत देखिएका छन् ।
पोखरा उद्योग वाणिज्य संघ र जिल्ला प्रहरी कार्यालय कास्कीसँगको सहकार्यमा पोखरामा सिसी टिभी जडान बारे छलफल भएको हो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले पोखरा नगदी कारोवारमा धेरै र बढ्दो क्षेत्र भएकोले सिसी टिभी जडान अनिवार्य भएको बताए । उनले पोखरा शहरलाई सिसी टिभी जडानले प्रविधिमैत्र शहर बन्न सक्ने धारणा राखे ।
कास्कीका प्रमुख प्रहरी उपरीक्षक अशोक सिँह ठकुरीले प्रविधीयुक्त प्रहरी अभियानलाई सिसी टिभी क्यामेरा जडान अभियानले सघाउने आशा व्यक्त गरे ।
कार्यक्रममा सबै क्षेत्रका प्रतिनीधिहरुको सहभागिता रहेको थियो । पोखरामा सिसी टिभी क्यामेरा जडानको आवश्यकताबारे सबैले सहमत धारणा व्यक्त गरेका थिए ।
पोखराका मुख्य २२ ठाउँमा मात्र सिसी क्यामेरा संचालनमा रहेकोले तत्काल १ सय २२ वटा ठाउँलाई केन्द्रमा सिसी टिभी क्यामेरा जडान गर्न आवश्यक देखिएको कार्यक्रमका सहभागीहरुको धारणा थियो ।
उक्त परियोजना सम्पन्न गर्नका लागि करिब ४ करोड ४५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।