ठुला दला, ठुला नेता, को-कहाँबाट भिड्दैछन त चुनाबमा?

904
views

१० कात्तिक, काठमाडौं ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो चरणको उम्मेदवारी मनोनयनका सम्पूर्ण प्रक्रिया पूरा भइ उम्मेदवारहरु चुनावी प्रचारमा जुटिसके पनि दोस्रो चरणको निर्वाचनका निम्ति भने उम्मेदवारको अन्तिम टुंगो अझै लागिसकेको छैन ।
आगामी कात्तिक १६ गते उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्ने दिन नजिकिइसकेकाले दलहरु समयको तीव्र दबाबमा छन् ।
यसैले पनि दलहरुले औपचारिक जानकारी नदिएपनि शीर्ष नेतासहित अधिकांशको उम्मेदवारी र निर्वाचन क्षेत्र टुंगो लगाइसकेको बताइन्छ ।
मंसिर १० गते हुने निर्वाचनको मनोनयन प्रक्रिया पूरा भइ उम्मेदवारहरुले निर्वाचन चिह्नसहित घरदैलो अभियान नै सुरु गरिरहेका छन् भने मंसिर २१ गते हुने चुनावका लागि १६ गते मनोनयन दर्ता गरिने कार्यतालिका छ ।
यो निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रसहितको वाम गठबन्धन बनेको छ भने नेपाली कांग्रेस लोकतान्त्रिक गठबन्धनको अझैपनि तयारीमै छ । समयको चर्को दबाबका कारण दलहरुलाई उम्मेदवार टुंगो लगाउन चटारो छ ।तर, गठबन्धन र आफ्नै पार्टी्भित्रको असन्तुष्टिलाई सम्बोधन गर्न उत्तिकै सकस पनि भइरहेको देखिन्छ । यसैले पनि सबैजसो प्रमुख दलहरुले किस्ताबन्दीमा उम्मेदवार टुंग्याउने रणनीति अख्तियार गरेको पाइन्छ । यसक्रममा पहिलो चरणमा शीर्ष नेताहरुको उम्मेदवारी र निर्वाचन क्षेत्र टुंग्याइन थालेको छ।कांग्रेस संसदीय समितिको बिहीबारको निर्णयानुसार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुरा–१ बाट प्रतिस्पर्धा गर्ने भएका छन् ।

यस्तै, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ–१, महामन्त्री डा. शशांक कोइराला नवलपुर–१, प्रकाशमान सिंह काठमाडौं–१, विमलेन्द्र निधि धनुषा–३, गोपालमान श्रेष्ठ स्याङ्जा–२, विजयकुमार गच्छदार सुनसरी–३, डा. प्रकाशशरण महत काठमाडौं–५, डा. शेखर कोइराला मोरङ–६, डा. मीनेन्द्र रिजाल मोरङ–२, डा. नारायण खड्का उदयपुर–१, महेश आचार्य मोरङ–४, रमेश लेखक कन्चनपुर–३, गगनकुमार थापा काठमाडौं–४, नवीन्द्रराज जोशी काठमाडौं–८ र पूर्णबहादुर खड्काले सुर्खेत–१ बाट उम्मेदवारी दिने भएका छन् ।

वाम गठबन्धनले पनि अधिकांश स्थानमा उम्मेदवारीको टुंगो लगाएको बताइएको छ । पार्टी स्रोतकाअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट प्रतिस्पर्धा गर्नेछन् भने वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल क्रमशः काठमाडौं–२ र इलाम–२ मा उम्मेदवार बन्नेछन् । यस्तै, अरु एमाले नेताहरु बामदेव गौतम बर्दिया ३, ईश्वर पोखरेल काठमाडौं–५, सुवास नेवाङ इलाम–१, भीम रावल अछाम, विष्णु पौडेल रुपन्देही–१, सुरेन्द्र पाण्डे चितवन–१, प्रदीप ज्ञवाली र गोकर्ण विष्ट क्रमशः गुल्मी–१ र २ बाट उम्मेदवार बन्दैछन् ।

यसैगरी, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवन–३ लाई रोजेका छन् भने अरु माओवादी नेताहरु रामबहादुर थापा चितवन वा नवलपुर, जनार्दन शर्मा रुकुम, वर्षमान पुन रोल्पा, कृष्णबहादुर महरा दाङ, टोपबहादुर रायमाझी अर्घाखाँची, मातृका यादव सिराहा र गिरिराजमणि पोखरेल महोत्तरीबाट उम्मेदवार बन्ने भएका छन् ।

राजपा नेपालका अध्यक्ष महन्थ ठाकुर निर्वाचन नलड्ने मुडमा भएपनि कांग्रेससँग कुरा मिले उनलाई २ नम्बर प्रदेशको मुख्यमन्त्री बनाउने गरी प्रदेशभसा सदस्यमा निर्वाचन उठाउने तयारी भइरहेको छ ।यस्तै, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सप्तरी–२, राजपाका नेता राजेन्द्र महतो धनुषा र राप्रपाका अध्यक्ष कमल थापा मकवानपुर–१ बाट उम्मेदवार बन्ने बताइएको छ ।

नयाँ शक्ति पार्टी नेपालका संयोजनक डा. बाबुराम भट्टराई, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, एमालेका योगेश भट्टराई, कांग्रेसका अर्जुननरसिंह केसी, रामशरण महत, राप्रपा प्रजातान्त्रिकका पशुपतिशमशेर राणालगायतका नेताहरु प्हिलो चरणमै आ–आफ्नो गृहजिल्लाबाट उम्मेदवार बनिसकेका छन् । दलहरुले दोस्रो चरणका सबै उम्मेदवारको अन्तिम टुंगो भने एकरदुई दिनभित्रैमा लगाइसक्ने जनाइएको छ ।